शिक्षक आन्दोलन चर्किएपछि अगाडि बढ्यो छानबिन, अब के होला ?

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखा सहायक विरेन्द्रप्रसाद जोशी प्रहरी नियन्त्रणमा रहेका बेला भएको कुटपिटको विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समिति गठन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको संयोजकत्वमा गठित छानबिन समितिले काम अगाडि बढाइसकेको छ ।

प्रशासनले संलग्न व्यक्ति र दोषी सुरक्षाकर्मीमाथि कारवाही प्रक्रिया अगाडि नबढाएको भन्दै नेपाल शिक्षक महासंघले प्रशासन कार्यालयमा धर्ना दिँदै सोमबार आन्दोलन गरेको थियो । महासंघले बुधवार बिहान ११ बजे भृकुटी माविमा भेला हुने निर्णय गरिसकेको छ ।

विद्यालयका लेखा सहायक जोशीले गत साउन ३१ गते छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपपछि प्रहरीले नियन्त्रणमा लिने क्रममा कुटपिट भएको थियो । जोशीमाथि भएको कुटपिटपछि सामुदायिक तथा संस्थागत सबै विद्यालय आइतबारदेखि अनिश्चितकालका लागि बन्द छन् ।

छानबिन समितिका संयोजक जोशीले ४ सदस्यीय छानबिन समिति गठन भएर काम थालिसकेको बताए । समितिले छानबिन गरी सुझाव सहितको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गर्नेछ ।

सहायक प्रमुख जिल्ला अधिकारी जोशीको संयोजकत्वमा गठित छानबिन समितिमा राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक भवन जोशी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक पूर्णप्रसाद न्यौपाने सदस्य रहेका छन् ।

प्रहरीको नियन्त्रणमा रहेका बेला शिक्षक जोशीमाथि कुटपिट भएको घटनाको उच्चस्तरीय छानबिन टोली गठन गरी अनुसन्धान गर्नुपर्ने, जोशीलाई विद्यालय हाताभित्रबाट पक्राउ गरेर लैजाने प्रहरीलाई निलम्बित गरी कारबाही गर्नुपर्ने लगायतका माग शिक्षकले राखेका छन् । प्रशासनले समिति गठन गरेर छानबिन अगाडि बढाइसकेको अवस्थामा अब आन्दोलन कसरी अगाडि बढ्छ भन्ने विषयमा मंगलबार बिहानको भेलाले निर्णय लिने जनाइएको छ ।

सम्बन्धित
Loading...