महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखा सहायक विरेन्द्रप्रसाद जोशीमाथि भएको कुटपिट घटनाले विकराल रूप लिँदै गएको छ ।
न्याय माग्दै आन्दोलित शिक्षक–कर्मचारीले आईतबार भीमदत्त नगरपालिका क्षेत्रभित्रका विद्यालय बन्द गराएका थिए भने सोमबार आन्दोलन जिल्लाव्यापी फैलिएको छ ।
नेपाल शिक्षक महासंघ जिल्लास्तरीय आन्दोलन परिचालन समितिले सोमबारदेखि जिल्लाव्यापी अनिश्चितकालीन विद्यालय बन्द आह्वान गरेको छ । महासंघले जिल्लाव्यापी आन्दोलन गर्दै विद्यालय नै बन्द गर्नुपर्ने अवस्था किन आयो ?
आन्दोलन परिचालन समितिले मुख्यगरी ३ विषय उठाएको छ । पहिलो – प्रहरी प्रशासनको मिलेमतोमा घटना भएकाले संलग्न प्रहरीलाई निलम्बन गरिदिनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने । दोस्रो – उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने । तेस्रो – औषधि उपचार खर्च राज्यले व्यहोर्नुपर्ने ।
शिक्षक–कर्मचारीले राखेका यी ३ विषयलाई प्रशासनले सम्बोधन गर्न नसक्दा आन्दोलन आक्रामक रूपमा फैलिँदै गएको छ । घटनामा सुरक्षार्थी खटिएका प्रहरी अधिकृत सीताराम विष्ट लगायत अन्य प्रहरी कर्मचारीलाई निलम्बन गरी कानूनसम्मत कारवाही गरिनुपर्ने माग गरिएको छ । प्रशासनलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनुपरेको शिक्षकहरूको गुनासो छ ।
आन्दोलनमा परिचालन समिति सँगसँगै प्याब्सन र एनप्याब्सन पनि रहेका छन् । सोमबार साँझ ५ बजेसम्म मागहरू पूरा नभए थप आन्दोलनका कार्यक्रम तय गरिने चेतावनी दिइएको छ । जिल्लाभरका शिक्षक कर्मचारीलाई सोमबार बिहान ९ बजे महेन्द्रनगरस्थित भृकुटी माध्यमिक विद्यालयमा भेला हुन आह्वान गरिएको छ । भेलाबाट र्यालीमा सहभागी भई जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम समेत तय गरिएको छ ।