कञ्चनपुरमा लेखापाल कुटपिट घटना चर्कियो, भोलिदेखि शिक्षण संस्था बन्द गर्ने घोषणा

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल वीरेन्द्र जोशी कुटिएको घटना चर्किंदै गएको छ ।

भीमदत्त नगर स्तरीय आन्दोलन परिचालन समितिले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै आइतवारदेखि भीमदत्तका सबै शिक्षण संस्था बन्दको घोषणा गरेको छ । समितिले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाहीको माग गरेको छ ।

परिचालन समितिका संयोजक धर्मानन्द जोशीले जारी गरेको विज्ञप्तिमा कुटपिटमा संलग्न सबै पक्राउ नगरिएको र पक्राउ गरिएकालाई समेत कानूनी कारवाही नगरिएकोमा असन्तुष्टि व्यक्त गरिएको छ ।

विद्यालयमा १० कक्षामा अध्ययनरत छात्राले यौन दुव्र्यवहारको आरोप लगाएपछि प्रहरी टोलीले नियन्त्रणमा लिएका बेला जोशीमाथि भदौ ३ गते कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका जोशीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

लेखापाल जोशीका परिवारले ८ जनाविरुद्ध किटानी जाहेरी दिए पनि ४ जना पक्राउ परेका छन् ।

समितिले थप छलफलका लागि आइतवार विहान १० बजे प्रधानाध्यापक, शिक्षक, कर्मचारी सबैलाई भीमदत्त नगरपालिका कार्यालयमा उपस्थिति हुन अनुरोध गरेको छ ।

सम्बन्धित
Loading...