काठमाडौं । खानेपानीमन्त्री बिना मगरको निर्वाचन क्षेत्र कञ्चनपुर–१ पुनर्वासमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई एकपछि अर्काे धक्का लाग्न थालेको छ ।
यसैहप्ता नेकपाका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेको केही दिनमै फेरि मंगलबार बीपी कोइराला स्मृति दिवसको अवसरमा ३३ जना नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
केही दिनअघि मन्त्री बिना मगरका निकट मानिने नेता कृष्ण नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । मंगलबार पुनर्वासमा आयोजित कार्यक्रममा कांग्रेस नेता दिवानसिंह बिष्टले नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभएको छ ।
पुनर्वासको ‘क’ गाउँस्थित सामुदायिक वनको सभाकक्षमा आयोजित कार्यक्रममा पुनर्वास नगरपालिका–७ ‘च’ गाउँका ३३ जना नेकपा कार्यकर्तालाई पार्टीमा प्रवेश गराइएको नेपाली कांग्रेस कञ्चनपुर १ नम्बर निर्वाचन क्षेत्रका सभापति गोपिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
सोमबार नेकपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका बुद्धिमान तामाङ, एलिया तामाङ, रमेश तामाङ र प्रकाश तामाङको सक्रियतामा थप व्यक्तिलाई पार्टीमा प्रवेश गराइएको सभापति उपाध्यायले बताउनुभयो ।

मन्त्री मगरको क्षेत्रका नेकपा कार्यकर्ता कांग्रेसतिर आइरिन थालेपछि नेकपाको जनाधार कमजोर हुँदै गएको कांग्रेस नेताहरूको दाबी छ । जननायक बीपी कोइरालाले स्थापित गरेका मूल्यमान्यता, सिद्धान्त र समाजवादी विचार बोकेको पार्टी कांग्रेसको अल्पसंख्यक र जनजाति तामाङ समुदायमा पार्टीको पकड कमजोर रहेको बेलामा पार्टी सुदृढीकरण अभियान तीब्र बनाइएको कांग्रेस नेता दिवानसिंह विष्टले बताउनुभयो । ‘अहिले कांग्रेस पार्टी जनजाति समुदायको रोजाइमा परेको छ,’ उहाँले भन्नुभयो ।