कोशीमा मुख्यमन्त्री थापाको रणनीति ‘फेल’ गर्न प्रतिपक्षी दलको यस्तो चलाखी

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि सत्तापक्ष र प्रतिपक्षबाट अनेक रणनीति लागू भइरहेका छन् ।

मुख्यमन्त्रीमा दाबी पेश गर्न आवश्यक बहुमत पुर्‍याउन सत्तारुढ गठबन्धनले तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएको थियो । त्यसपछि ज्येष्ठ सदस्य गयानन्द यादवलाई राज्यमन्त्री नियुक्त गरियो ।

विश्वासको मत लिने दिनको प्रदेशसभा बैठक सञ्चालनको जिम्मेवारी प्रतिपक्षी दलका सांसदको पोल्टामा पार्ने मुख्यमन्त्रीको रणनीति थियो । तर सत्तारुढ गठबन्धनको रणनीति ‘फेल’ पार्न प्रतिपक्षी दलले चलाखी देखाएका छन् ।

सभामुखले राजीनामा दिएको र उपसभामुख अनुपस्थित भएको अवस्थामा ज्येष्ठ सदस्यले प्रदेशसभा सञ्चालन गर्ने व्यवस्था छ । सभा सञ्चालनको जिम्मेवारी आउन सक्ने नेकपा एमालेका ज्येष्ठ सदस्य ६ जनाले प्रदेशसभा सचिवालयबाट बिदा लिएका छन् ।

राप्रपाका सांसदहरु अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा पनि घरायसी समस्या देखाएर सोमबारको प्रदेशसभा बैठकमा अनुपस्थित हुने भएका छन् ।

एमालेका सांसदहरू बिदामा बसेकाले एमालेबाटै निर्वाचित उपसभामुख सिर्जना दनुवार पनि बिदामा बस्न सक्ने चर्चा छ । सोमबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रस्ताव राख्न सक्ने जनाइएको छ ।

प्रदेशसभा बैठकमा उपसभामुख दनुवार पनि अनुपस्थित रहेमा ज्येष्ठ सदस्यको १३औं नम्बरमा रहेका कांग्रेसका अमृत अर्यालले प्रदेशसभा बैठकको अध्यक्षता गर्नुपर्नेछ । अर्यालले अध्यक्षता गरेको अवस्थामा विश्वासको मत दिन नपाइने भएकाले मुख्यमन्त्री थापाले विश्वासको मत पाउने अवस्था देखिँदैन । अनेक चर्चा र अनुमानबीच सोमबारको प्रदेशसभा बैठकलाई सबैको पर्खिरहेका छन् ।

सम्बन्धित
Loading...