सम्झनामा बीपी कोइराला : यी हुन् चर्चित २० भनाइ

काठमाडौं । नेपाली कांग्रेस तथा प्रजातान्त्रिक आन्दोलनको चर्चा हुँदा संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालालाई नसम्झिने सायदै कोही होलान् । नेपालमा प्रजातान्त्रिक आन्दोलन र बीपी कोइराला पर्याय जस्तै रहनुभएको इतिहास छ ।

मंगलबार बीपी कोइरालाको ३८ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विक्रम संवत् १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगसँग लड्दालड्दै निधन भयो ।

राजनीतिमा बीपी र नेपाली साहित्यमा विश्वेश्वरको नामबाट परिचित कोइराला जहानियाँ राणा शासनविरुद्धको क्रान्तिका प्रमुख नायक हुनुहुन्थ्यो । उहाँले राजनीतिलाई मूल्य र आदर्शको परिधिमा राख्नुुभएको थियो । राणा शासनको अन्त्यसँगै ३६ वर्षको उमेरमा गृहमन्त्री बन्नुभएका कोइराला २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ स्थान प्राप्त गरेपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो ।

उहाँले जनतालाई सर्वोपरि राखेर गरेको राजनीतिबाट तत्कालीन राजा महेन्द्रलाई सह्य भएन । निर्वाचित सरकारलाई अपदस्थ गरी प्रधानमन्त्री बीपी लगायतका नेतालाई सेनाको बलमा ८ वर्ष बन्दी बनाइएको थियो । त्यसपछि ८ वर्ष प्रवास र पुनः स्वदेश फर्केर पञ्चायतविरुद्ध लड्दा कठोर काराबास र संघर्षमै उहाँको जीवन बित्यो । बीपीकै संघर्षको फलस्वरूप आज नेपालीलाई प्रजातान्त्रिक अधिकार उपभोग गर्न बाटो खुलेको छ ।

बीपी कोइराला चर्चित साहित्यकार समेत हुनुहुन्थ्यो । कोइराला नेपाली र हिन्दी भाषाका साहित्यकार हुनुहन्थ्यो । कोइरालाका नरेन्द्र दाई, तीन घुम्ती, बाबु आमा र छोरा, हिटलर र यहुदी, मोदिआइन, सुम्निमा, दोषी चस्मा जस्ता पुस्तकहरू चर्चित छन् ।

बीपीले आफ्नो जीवनकालमा व्यक्ति गर्नुभएका केही भनाइहरू विभिन्न पुस्तकबाट संकलन गरिएका छन् ।

यस्ता छन् बीपीका चर्चित २० भनाइ –

१. कसैको शिरमा कालो टोपी छ वा छैन भन्ने कुराले केही अर्थ राख्दैन । यथार्थमा संस्कृति भनेको मानवको व्यवहार हो ।

२. साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ ।

३. संगीत र भावको सम्मिश्रणबाट जन्मेको उच्चतम दर्शन न साहित्य हो ।

४. तानशाही व्यवस्थालाई प्रजातान्त्रिक संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्काे असत्यले ढाकछोप गर्ने प्रयत्न गर्नु हो ।

५. म कुनै आर्थिक विशेषज्ञ होइन । तर जुन विकासले ग्रामीण जनतालाई पछाडि छोडिदिन्छ, त्यो विकास विकास नै होइन ।

६. देश भन्नुहोस् वा राष्ट्र, त्यो भूगोल होइन, त्यो यथार्थमा जनता हो ।

७. समाजको कुनै वर्गले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग मजबुत हुँदैन ।

८. हामीले आफ्ना विरोधीहरूलाई सिद्धान्तको आधारमा जित्नुपर्छ ।

९. हाम्रो विरोध कटुताहीन र सैद्धान्तिक हुनुपर्छ । तर व्यक्तिगत हुनुहुँदैन ।

१०. हामीले आफ्नो सिद्धान्त त्यागेर कोहीसँग पनि सम्झौता गर्नुहुँदैन ।

११. धर्मको विरुद्धमा म पटक्कै छैन, छँदै छैन । तर सबैलाई थाहा छ म धर्मको अभ्यास गर्दिनँ ।

१२. साहित्य सभ्यताको प्रतिक हो ।

१३. प्रजातन्त्र नभए देश रहँदैन, राजा रहँदैनन्, हामीहरूको त कुरै भएन ।

१४. मलाई विश्वास छ नेपालमा फेरि प्रजातन्त्र आउने छ ।

१५. राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना र विचार हो ।

१६. राष्ट्रियता र प्रजातन्त्र अविभाज्य छन् ।

१७. ठूलो मान्छे होइन, असल मान्छे बन्नुपर्छ ।

१८. मेरो राजनीतिक जीवन खुलेको पाना हो ।

१९. समालोचक हुन पर्याप्त ज्ञान र सीपको आवश्यकता पर्दछ ।

२०. म युनिभर्सल कल्चर (विश्व संस्कृति) मा विश्वास गर्दछु ।

सम्बन्धित
Loading...