नेकपाको खटपटभित्र लुकेको भयंकर कटुतापूर्ण पाटोको बेलीविस्तार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको पछिल्लो छलफलमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबारे दुई तिखो टिप्पणी गरे ।

पहिलो  – तपाईं मेरो टीममा बस्ने कि माधव नेपालको टीममा, फैसला गर्नुहोस् ।

दोस्रो – तपाईं र म मिलौं । भैंसी तान्दा जुम्राहरू आफैं तानिएर आउँछन् ।

वरिष्ठ नेता नेपालप्रति ओलीको आवेगात्मक असन्तुष्टि थियो यो । त्यसले नेकपामा ओलीको सम्बन्ध प्रचण्डभन्दा नेपालसँग बढी तिक्ततापूर्ण देखाउँछ । ओली–नेपाल कटुता तत्कालीन एमालेको नवौं महाधिवेशनपछि उत्कर्षमा पुगेको हो ।

ओली र नेपाल २०७१ को नवौं महाधिवेशनमा छुट्टाछुट्टै प्यानल बनाएर भिडे । वामदेव गौतम खुलेरै ओलीका पक्षमा लागे । झलनाथ खनालले भने भित्रभित्रै नेपाललाई साथ दिए । महाधिवेशनको नतिजा ओलीले ४९ मतान्तरले आफ्नो पोल्टामा पारे । त्यसयता ओली–नेपाल सम्बन्ध सुमधुर बन्न सकेको छैन । त्यसअघि पनि यी दुई नेताबीच खटपट नभएको होइन । ६ वर्षयता भने यी दुई नेताको सम्बन्ध कहिले निकै पेचिलो अवस्थामा रह्यो त कहिले पानीको फोकामा परिणत हुँदै आयो । प्रधानमन्त्री ओलीले नेपालसँगको सम्बन्धलाई ‘पुरेत र जजमानको सम्बन्ध’का रूपमा अथ्र्याउने गरेका छन् ।

‘पुरेत र जजमानको सम्बन्ध भनेको जजमानले जहिले पनि पुरेतलाई मानसम्मान, दानदक्षिणा दिन्छ । पुरेतले भने जजमानलाई कहिल्यै केही दिँदैन,’ ओलीले भन्ने गरेका छन्, ‘मेरो र माधव नेपालको सम्बन्ध पुरेत र जजमानको जस्तो भयो । म जजमानजस्तो भएँ, उहाँ चाहिँ पुरेतजस्तो हुनुभयो । मलाई उहाँले दिनुपर्छ भन्ने ठान्दिनँ । जुन दिन मान, सम्मान, सेवा नपुगेजस्तो हुन्छ त्यो दिन उहाँ आग्रह, रिसमा आइहाल्नुहुन्छ ।’

ओली आफू पार्टी नेतृत्वमा आएदेखि नेपालले कहिल्यै साथ नदिएको महसुस गर्छन् । ओलीले संयमित भएर विधि र पद्धतिमा रही पार्टी चलाउनेभन्दा आफ्नो समूहको हित मात्र हेर्ने गरी काम गरेको भन्ने नेपाललाई लाग्छ । यही अविश्वास र असमझदारी बढ्दै जाँदा ओली–नेपाल सम्बन्ध दिनदिनै टाढिँदो छ ।

एमाले–माओवादी एकतापछि नेकपामा त्रिपक्षीय शक्तिसंघर्ष छ । ओली, दाहाल र नेपालका आआफ्ना बलिया समूह छन् । २ नेता मिल्दा अर्का किनारामा पर्छन् । अहिले ओली एकातिर र दाहाल–नेपाल अर्काेतिर देखिँदा पार्टी र सरकार सञ्चालनमा ओली अप्ठ्यारोमा परेका छन् ।

यही अप्ठ्यारो अवस्थामा ओलीले नेपालसँग सम्बन्ध बढाउन चाहे । तर ओली र दाहाल मिल्दा आफूलाई पेलेको भन्दै ओलीभन्दा दाहालसँग नजिकिन पुगे नेपाल ।

प्रधानमन्त्री ओलीको अर्का अध्यक्ष प्रचण्डसँग महिनामै झण्डै १५–२० पटक भेट हुन्छ । कहिले दाहाल ओली भेट्न बालुवाटार पुग्छन् त कहिले ओलीले नै बोलाएर छलफल गर्छन् । पछिल्लो पार्टी विवादमा पनि ओली र दाहालले १५ दिनमा झन्डै ११ पटक बालुवाटारमा घण्टौं छलफल गरेका छन् ।

तर नेपालसँग ओलीको यस्तो भेट ठप्पप्रायः छ । नेपालनिकट एक स्थायी समिति सदस्य भन्छन्, ‘प्रधानमन्त्रीले एक त भेट्नै बोलाउनुहुन्न, उहाँ (माधव नेपाल) पनि नबोलाइकन किन जाने भन्नेमा हुनुहुन्छ । भेटघाट नगन्य अवस्थामै छ । औपचारिक पार्टी काम, मिटिङहरूबाहेक मुस्किलले वर्षमा ५ पटक भेट हुन पनि गाह्रो छ ।’ ओली उपचारका लागि २०७६ भदौ ५ गते सिंगापुर जाँदै थिए । त्यही बिहान बालुवाटारमा नेकपा सचिवालय बैठक बस्यो । स्वास्थ्यलाभका विषयमा ओली र नेपालबीच चर्काचर्की पर्‍यो । ‘तपाईंले मेरो स्वास्थ्यबारे के सोच्नुहुन्छ ? तपाईंको चाहना मैले बुझेकै छु । कहाँ–कहाँ के भन्दै हिँड्नुभएको छ । लौ भैगो, तपाईंको शुभकामना चाहिएन मलाई,’ उक्त दिनको चर्काचर्कीमा ओलीले नेपालको स्वास्थ्यलाभको शुभकामनासमेत लिन अस्वीकार गरे । त्यसयता २ नेताको सम्बन्ध औपचारिकतामा मात्रै सीमित हुन थाल्यो ।

पार्टी एकताका काममा प्रदेश पदाधिकारी चयन गर्दा असहमति राखेपछि नेपाललाई बालुवाटार बन्दजस्तै हुन पुग्यो । त्यसअघि नेपालले संसद्मा दिएको एउटा अभिव्यक्तिले पनि ओलीको मन कुँडिएको थियो । त्यसबेला ओली भर्खरै मात्र दोस्रो पटक सरकारको नेतृत्वमा आएका थिए ।

नेपालले संसद्लाई सम्बोधन गर्दै भने, ‘देशमा दण्डहीनता र अराजकता बढिरहेको छ । अझै पनि देश डुब्न दिने हो भने हामी सबै डुब्छौं । कोही पनि बच्दैनौ । त्यसैले पनि देशले एउटा गीतमा भनेजस्तै म देशमा एउटा मानिस खोजिरहेछु भन्ने अवस्था आइरहेको छ ।’

आफ्नै पार्टीका नेता नेपालले संसद्मा गरेको यस्तो टिप्पणीले ओलीलाई नमीठो लाग्यो । त्यसमाथि नेपालले एकताका काममा प्रदेश पदाधिकारी, जिल्ला अध्यक्ष चयनमा मापदण्ड लागू गर्नुपर्ने, कार्यदल गठनदेखि एक व्यक्ति एक मुख्य जिम्मेवारीका विषय पार्टीभित्र उठाउन थाले । ओलीले कतिपय अवस्थामा ओली र दाहालले गरेका निर्णयमा फरक मत समेत राखे । त्यसपछि भने ओलीले एकताका क्रममा नेपाललाई अर्का नेता झलनाथ खनालभन्दा वरीयतामा माथि ल्याइएको पुरानो निर्णय उल्टाइदिए । त्यसपछि त न ओलीले नेपाललाई बालुवाटार बोलाएर छलफल गर्न थाले न त नेपाल नै बालुवाटार पुगे ।

‘त्यसयता हिसाबै गर्दा पनि झण्डै अहिलेसम्म एक वर्षको बीचमा आधा दर्जन जति मात्र एक्लाएक्लै छलफल भएको होला । नत्र त्यसरी छलफल हुनै पाएको छैन,’ नेपालनिकट ती स्थायी समिति सदस्य भन्छन् । भदौ ५ गतेको चर्काचर्कीपछि त ओली–नेपाल संवाद एकैचोटी साढे ३ महिनापछि २०७६ कात्तिक २६ गतेमा भएको थियो ।

ओलीले त्यसबेला पनि नेपाललाई बारम्बार फोन गरेर बोलाएपछि मात्र भेट सम्भव भएको थियो । ओलीले बोलाउँदासम्म पनि नेपाल गएका थिएनन् । प्रधानमन्त्रीले बोलाइसकेपछि भेटघाटमा जान आफूनिकट नेताले आग्रह गरेपछि भने नेपाल बालुवाटार गएका थिए । त्यसबेला ओलीले बढ्दो तिक्तता हटाउने र हार्दिकता बढाउने, पार्टी कार्यालय पुनर्निर्माणको जिम्मा दिने, कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमामा देखिएको समस्या समाधान गर्न ‘विशेष दूत’का रूपमा भारत पठाउनेजस्ता प्रस्ताव नेपालसामु राखेका थिए ।

लञ्चसहित ४ घण्टा छलफल गरेका नेपाल भोलिपल्टै फेरि बालुवाटार पुगेर ओलीको प्रस्तावमा काम गर्न आफू तयार रहेको जवाफ दिएर फर्केका थिए । प्रधानमन्त्रीकै प्रस्तावमा विशेष दूत बनेर भारत जाने भएपछि उनले केही तयारी पनि गरे। विज्ञहरूसँग छलफल, प्रमाण तथ्य संकलनसम्मका काम गरे । तर त्यो फेरि त्यत्तिकै सेलायो । त्यसपछि फेरि ओली–नेपाल भेटघाट पातलियो ।

ओलीले मुलुक लकडाउनमा रहेका बेला दल विभाजनसम्बन्धी अध्यादेश र संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार संशोधन गर्न अध्यादेश वैशाख ८ मा ल्याए । पार्टीभित्र त्यसप्रति चर्काे असन्तुष्टि देखियो । नेपाल र दाहाल पक्षका २० स्थायी समिति सदस्यले पार्टी बैठक बोलाउन माग गर्दै दुबै अध्यक्षलाई निवेदन दिए । नेपालको ओलीसँगको टाढिँदो सम्बन्धसँगै दाहालतर्फ हिमचिम बाक्लिँदो थियो । नेताहरूले बैशाख १७ गतेमा सचिवालय बैठकमा ओलीको राजीनामा माग गरे । त्यसपछि भने फेरि नेपालको खोजी भयो बालुवाटारबाट । त्यसको भोलिपल्ट नेपाललाई ओलीले बालुवाटार बोलाए । बैशाख १८ गते ओलीसँगको संवादमा रहेका नेपाल त्यसबेला कहिले खुमलटार कहिले बालुवाटार ओहोरदोहोरमा रहे ।

बैशाख २० गतेको सचिवालय बैठकमा ओली–दाहाल कमजोरी स्वीकार गर्ने प्रस्तावसहित जब बैठकमा आए, नेपालले २ नेताको चोचोमोचो मिलाएर मात्र नहुने भन्दै पार्टीभित्रको विधि पद्धति र एक व्यक्ति एक मुख्य जिम्मेवारीको प्रश्न उठाइरहे । ओली–दाहाल जस्तो विवाद देखिए पनि नेकपाभित्रको विवाद फेरि पछि सर्‍यो ।

स्थायी समिति बैठक बोलाउने/नबोलाउनेमै रस्साकस्सी चल्न थाल्यो । फेरि नेपाल–ओली संवाद टुट्यो । असार १० गते स्थायी समिति बैठक शुरू हुनुअघि बालुवाटारमै ओली, दाहाल र नेपालबीच संक्षिप्त कुराकानीबाहेक बीचमा फेरि संवाद थिएन ।

नेकपाभित्र ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै चलाउन असफल भएको भन्दै राजीनामा मागियो । असार १८ गतेदेखि ओली–दाहाल निरन्तर सहमति जुटाउने कोसिसमा वार्तामा बसे । दाहालले नेपाललाई पनि सहमतिमा ल्याउन र वार्तामा राख्न ओलीसँग आग्रह गरिरहे । तर ओलीले अनिच्छा देखाइरहे । अन्ततः दाहालकै जोडबलमा साउन १ गते भने दाहालको प्रस्तावमा तीन नेताबीच बालुवाटारमा छलफल भयो । त्यसयता भने फेरि ओली–नेपाल संवादहीनता छ । ओलीनिकट नेता ओली–नेपाल मिल्नुपर्ने प्रस्ताव लिएर नेपाल निवास कोटेश्वर कयौंपटक पुगेका छन् । तर दुई नेताकै बीचमा भने मन माझामाझ भएर छलफल हुन नसकेको नेपालको सचिवालयले बताएको छ ।

ओली र नेपालको सम्बन्ध पुरानो छ । २०२९ सालदेखि नै नेपाल र ओली एकअर्कासँग चिनापर्चीमा थिए । त्यसयता उनीहरू एकै पार्टीमा रहेर उतारचढावको राजनीति गर्दै आइरहेका छन् । बेलाबेला हुने ठाकठुकलाई एक प्रसंगमा नेपालले श्रीमान्–श्रीमतीको झगडाका रूपमा लिनुपर्ने बताएका थिए । तर यो झगडा बल्झाउन कतिपय इगो र पुरानो ईखले पनि मलजल गरेको नेताहरूको टिप्पणी छ ।

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७३ मा नेपालले संसद्मा गरेको सम्बोधनको ईख ओलीमा अझै पनि देखिन्छ । ‘त्यतिबेला गठबन्धनका साथीहरूले धोका दिए । धोकाधडीको समझदारी हुँदै अगाडि बढेको छ नि राजनीति । त्यतिबेला अविश्वासको प्रस्ताव राख्ने कांग्रेसका नेताहरूले त्यति विधि भनेनन् होला । तर आफ्नै अध्यक्षले नेतृत्वको गरेको सरकारविरुद्ध पार्टीका वरिष्ठ नेताहरूले धुवाँदार विरोध गर्नुभयो । त्यसबेला माधव कमरेडले के बोल्नुभयो ? झलनाथ कमरेडले के भन्नुभयो ? यो पृष्ठभूमिमा मन संग्लो पारेर ओलीले उहाँहरूसँग सहमति गर्ने ठाउँ नै राखिदिनु भएन,’ ओली निकट स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्नपूर्णसँग भने, ‘त्यसपछि चुनाव भयो । फेरि ओली प्रधानमन्त्री बन्ने स्थिति आयो । अहिले फेरि पार्टीका नेताहरूको गतिविधि हेरौं न हामीले नाटक हेर्न अन्त जानै पर्दैन । संसद्मा हेरे पुग्छ । प्रमुख विपक्षी कांग्रेस एजेन्डाविहीन छ । सरकारको विरोध गर्ने वैचारिक र राजनीतिक मुद्दा कांग्रेसले पाएको छैन । तर सरकारको धुवाँदार विरोध गर्ने को छ ? पार्टीकै ओलीइतर गुटका नेताहरू होइनन् ?’

सरकारलाई पार्टीबाट सहयोग नभएको बुझाइ ओलीमा देखिन्छ । तर फेरि नेपाल–दाहाललगायत नेता ओलीले पार्टी र सरकार स्वेच्छाचारी ढंगले चलाएको, सर्वसत्तावाद लागू गर्न खोजेका कारण समस्या आएको बताउँदै आइरहेका छन् ।

ओली–नेपाल सम्बन्ध खटपटमा यति मात्र कारण छैन । २०५६ सालको संसदीय चुनाव र तत्कालीन एमालेभित्रको सातौं महाधिवेशनका बेलादेखिको सम्बन्ध केलाउनुपर्ने कतिपय नेकपा नेताको मत देखिन्छ । त्यही बेलादेखि दुई नेताबीच अन्तरविरोध देखा परेको थियो । त्यसबेला ओली पार्टी महासचिव नेपाल भएकाले दलको नेता आफू बन्न खोजेका थिए । तर नेपालले दिएनन् । त्यसपछि नै ओलीले पार्टीभित्र गुट बनाउँदै आफूलाई शक्तिमा ल्याउने प्रयास थालेको नेताहरूको बुझाइ छ ।

नेपालनिकट केन्द्रीय सदस्य जगन्नाथ खतिवडा भने आठौं महाधिवेशनमा ओली झलनाथ खनालसँग चुनावमा पराजित भएपछि नेपालसँग सम्बन्ध बिग्रन थालेको बताउँछन् । ‘अरू सम्बन्धमा केही समस्या थिएन । केपी र झलनाथ जब महाधिवेशनमा चुनाव लडे, झलनाथ चुनाव जिते, केपी हारे । त्यो बेला केपीको पक्षमा माधव नेपाल थिए । तर उहाँ (ओली) को आरोप छ माधव नेपालले मेरो पक्षमा राम्रोसँग भूमिका खेलिदिएनन् । त्यस बेलादेखि अलि देखिने गरी सम्बन्ध खटपट शुरू भएको देखिन्छ,’ खतिवडा भन्छन् ।

ओली अन्य नेताका तुलनामा अलिक ईखालु स्वभावका पनि छन् । जसले गर्दा विगतमा भएका सानातिना खटपटका कारण पनि बेलाबेला अहिले पनि विवाद बल्झिने गरेको अनुभव पनि नेकपा नेतासँग देखिन्छ ।

ओली र नेपालको स्वभाव, आनीबानी र शैली फरक छ । विपन्न पृष्ठभूमिबाट राज्यको कार्यकारी निकायको सर्वाेच्च पदमा पुगेका व्यक्ति हुन् ओली । तर ओलीभन्दा अलिक फरक पृष्ठभूमि छ नेपालको । ओली २०२८ सालको ‘वर्ग शत्रु सफाया क्रान्ति’का नामले चिनिएको झापा आन्दोलनका प्रमुखमध्ये एक नेता थिए । त्यही वर्ष उनी जेल परे र २०२८ देखि २०४४ सालसम्म १४ वर्ष जेलमा बिताए । नेपाल शुरूमा माले मोरङमा आबद्धता जनाउँदै झापा आन्दोलन समूहसँग मिसिएर पार्टीमा स्थापित हुन पुगेका थिए । ओलीको जस्तो लामो जेल अनुभव त नेपालसँग छैन । तर उनले पनि २०३२ मा राजकाज मुद्दामा २ वर्ष जेलमा बिताएका थिए ।

ओलीमा वाकपटुता छ । उनी आफ्नो विचार र अडानमा स्पष्ट छन् । तर नेपालमा ओलीजस्तो वाकपटुताको खुबी छैन । एकै रस र लयका भाषण मात्र गर्छन् नेपाल । नेपालले आफूलाई समन्वयकारी नेताको रूपमा चिनाएका छन् । सबैसँग मिलेर जान सक्ने क्षमता राख्छन् । तर, ओली अन्तरमुखी स्वभावका छन् । त्यही कारण ओलीमा मनोगतवादी प्रवृत्ति देखिन्छ । लचकताभन्दा ढृढतामा जोड दिन्छन् । त्यही कारण पार्टीका बहुमत नेताहरूले राजीनामा माग गर्दा पनि उनी टसमस भएका छैनन् ।

‘स्वभावमै भिन्नता भएपछि मान्छेले गरेको कुरा मिल्दैन । वस्तुवादी भए विधिले मिलाउँछ । हिजो विधि कार्यान्वयन गर्ने माधव नेपालको हातमा थियो । केपी ओली माग गर्नेमा थिए । टसल हुँदाहुँदै पनि सन्तुलन नै थियो,’ नेपालनिकट नेता खतिवडा भन्छन्, ‘अहिले विधि पनि ओलीकै हातमा, निर्णयकर्ता पनि ओली, माधव नेपालको हातमा केही पनि भएन । जसले पनि अन्तरविरोध चुलिएको छ ।’

नेकपाभित्रको वैचारिक राजनीतिक विषयका मुद्दामा भने यी दुवै नेता एकै ठाउँमा देखिन्छन् । संगठनात्मक र कार्यशैलीगत विषयमा परेको अन्तरसंघर्षले वल्लो र पल्लो छेउमा ओली र नेपाललाई पुर्‍याए पनि जनताको बहुदलीय जनवाद (जबज)को विषयमा उनीहरूको समान धारणा देखिन्छ । यही समानताका बीचबाट ओली र नेपालको मिलनबिन्दुको खोजीमा पनि ओली र नेपालनिकट केही नेता प्रयासरत देखिन्छन् ।

आजको अन्नपूर्ण पोस्ट दैनिकमा रामकृष्ण अधिकारीले लेख्नुभएको छ ।

सम्बन्धित
Loading...