नयाँ मन्त्री नियुक्तिको अन्तिम तयारी, देउवा सरकारमा कुन पार्टीबाट को–को मन्त्री ?

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिन बाधा गरिरहेको राजनीति दल सम्बन्धी अध्यादेश खारेज भएसँगै अब नयाँ मन्त्री नियुक्तिको अन्तिम तयारी भइरहेको छ ।

सत्तारुढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालले मन्त्री नियुक्तिको तयारी गरिरहेका छन् ।

देउवा सरकारमा हाल गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठ रहेका छन् ।

देउवा सरकार ७ सदस्यीय बनेको छ । संविधानअनुसार मन्त्रिपरिषद् २५ सदस्यीय बनाउन पाइन्छ । सत्तारुढ दलको भागबण्डाअनुसार नेपाली कांग्रेसले ७ मन्त्री तथा माओवादी, एकीकृत समाजवादी र जसपाले ६/६ मन्त्री पाउने सहमति जुटेको छ ।

प्रधानमन्त्री देउवाले मन्त्रीहरूको नाम मागिरहेकाले दलहरूले आन्तरिक तयारी गरिरहेका छन् । कांग्रेसबाट सरकारमा थपिने मन्त्रीहरूको दौडमा दिलेन्द्रप्रसाद बडू, डा. मिनेन्द्र रिजाल र पुष्पा भुसालको नाम चर्चामा छ ।

एकीकृत समाजवादीबाट सांसद विरोध खतिवडाको नेतृत्वमा मेटमणि चौधरी, प्रेम आले, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ मन्त्री बन्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट हरिबोल गजुरेल, देवेन्द्र पौडेल, महेश्वर गहतराज, हरि चौधरी, सुदन किराती, अमनलाल मोदी र शशी श्रेष्ठमध्येबाट ३ जना मन्त्री र १ राज्यमन्त्री बन्ने स्रोतले जनाएको छ । मन्त्रीको नाम टुंगो लगाउने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ ।

जसपाले मन्त्री बन्नेहरूको नाम टुंगो लगाएको छैन । जसपाले अध्यादेश फिर्ता हुनुपर्ने माग राख्दै आएकाले अब फिर्ता भइसकेपछि मन्त्री नियुक्तिबारे छलफल हुने जनाइएको छ ।

सम्बन्धित
Loading...