प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखप्रति आफूहरुको आशंका कायमै रहेको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएकाले सहभागी नभएको उनले बताए ।
प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले भने, ‘हामीसँग भेदभाव गरियो । प्रमुख प्रतिपक्षलाई भेदभाव गरियो भन्ने भान परेको छ । त्यो शंका निवारणको लागि कुनै प्रयास भइरहेको छैन । सभामुखमाथि हाम्रो आशंका छ । सभामुखजीले ल आऊ बैठकमा भनेर औपचारिकता पूरा गर्दा हामी जानुको कुनै अर्थ छ ? हाम्रो यो आरोप छ यो आरोपलाई तपाईंहरु पुछ्नुस् ।’
सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको उनको टिप्पणी छ । प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडि बढ्नुपर्ने नेम्वाङले बताए ।