बागमतीमा एमालेको सरकार ढाल्न विपक्षी गठबन्धन सक्रिय

बागमती प्रदेशमा नेकपा एमालेको सरकार ढाल्न विपक्षी गठनबन्धनले सक्रियता जनाएको छ । विपक्षी गठबन्धनले परिवर्तनको लागि गृहकार्य सुरु थालेको छ ।

बागमती प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत पार्टीले प्रवेश पाएसँगै केन्द्रीय तहमा बनेको गठबन्धनले प्रदेशमा पनि सरकार परिवर्तनका लागि रणनीति बनाउन लागेको हो ।

नेकपा एमालेको विभाजनपछि १३ जना सांसदले एमाले पार्टी त्यागेर नेकपा एकीकृत समाजवादीमा गरेको सनाखतलाई निर्वाचन आयोगले मान्यता दिएपछि गठबन्धनले सरकार परिवर्तनको गतिविधि सुरु गरेको हो ।

मुख्यमन्त्रीले अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनसक्ने आधार कमजोर बन्दै गइरहेका बेला सरकार परिवर्तनको लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी लगायतका सत्ता परिवर्तनको दलहरूको गृहकार्य सुरु गरेका हुन् ।

निर्वाचन आयोगको पत्र दर्ता हुनासाथ आइतबार नै संसद् सचिवालयले नेकपा एकीकृत समाजवादीलाई दलको कार्यालय उपलब्ध गराएको थियो भने उक्त कार्यालयमा सो पार्टीको पहिलो संसदीय बैठकसमेत बसेको थियो ।

बैठकले दलको नेतामा राजेन्द्र पाण्डेलाई नियुक्त गर्नुको साथै सरकारलाई समर्थन नरहेको निर्णय गरेको थियो । बैठक छि नेकपा नेकपा समाजवादीका सांसदहरुले सरकारलाई समर्थन नरहेको व्यहोरेको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेश हेटौंडा, सभामुख सानुकुमार श्रेष्ठ र संसद् सचिवालयमा दर्ता गराएका थिए ।

नेकपा एकीकृत समाजवादीको बागमती प्रदेशसभामा प्रवेश र सरकारलाई समर्थन नगर्ने सो दलको निर्णयसँगै बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् ।

५६ सांसदका साथ नेपालको संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त दलको तर्फबाट सरकारको नेतृत्व गरेकी मुख्यमन्त्री शाक्य पार्टी विभाजन पछि १३ जना सांसदले साथ छोड्दा ४३ सांसदमा सिमित भएकी छिन् ।

बागमती प्रदेशमा सरकारको नेतृत्वको लागि कुल १०९ जना सांसदमध्ये ५५ जना सांसदको समर्थन आवश्यक हुन्छ । बागमती प्रदेशसभामा नेकपा माओवादी केन्द्रको २३, नेपाली काँग्रेसको २२, विवेकशील साझाको ३, नेमकिपाको २, राप्रपाको २ र जसपा निकटका १ जना सांसद् रहेका छन् ।

सम्बन्धित
Loading...