सुरेन्द्र पाण्डेले माधव नेपाललाई भने– एमालेमै फर्किनुस्, क्षमादान दिन्छौं

नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपालले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको जनाएका छन् । मंगलबार पोखरामा एमाले जिल्ला भेलालाई सम्बोधन गर्दै पाण्डेले नेपाल समूह फर्किए अझै पनि क्षमादान दिने बताएका हुन् ।

पार्टीलाई मिलाउन कार्यदल निरन्तर लागिरहेको भए पनि नेपाल समूह छाडेर गएको पाण्डेको भनाइ थियो । ‘केही सुखद केही दुःखद् स्थितिमा हामी छौं । पार्टीलाई एकतावद्ध बनाउने टिममा पनि थिएँ । माधव नेपाल समूह छाडेर गयो, अन्तिमसम्म पनि नजानुस्, यहीं बस्नुस् यही हो हाम्रो घर हो भन्यौं तर छोडेर जानुभयो,’ पाण्डेले भने । केहीले कार्यदलका नेताले नेपाल समूहलाई छोडेर धोका दिएको भन्ने गरेको भन्दै नेता पाण्डेले धोका आफूहरुले होइन, नेपालहरुले धोका दिएको बताए ।

‘तपाईंहरुले पार्टी फुटाएर धोका दिएर जानुभयो, हामी अन्तिमसम्म पनि मिलाउने अभियानमै थियौं । अनेक चरणमा वार्ता गर्दै गयौं,’ पाण्डेले भने, ‘६ बुँदे सहमतिको आधार तयार पारेको, त्यसैको आधारमा १० बुँदे सहमति भयो । तर, हाम्रो प्रयास आंशिक सफल भयो आंशिक असफल भयो ।’

२०५४ सालमा शक्ति आर्जन गर्न भन्दै वामदेव गौतमजीले पार्टी फुटाएको र २०५८ सालमा फेरि पार्टी एकता गर्दै महसुस गरेको पाण्डेले बताए । ‘२०५८ मा एकता गर्दै वामदेवजीले भन्नुभएको थियो, विभाजन गरेर शक्ति बढ्ने होइन रहेछ, मैले गल्ती गरेछु भनेको मैले सम्झिरहेको छु ।’

सम्बन्धित
Loading...