नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयको आपत्ति, कारवाही गर्ने चेतावनी

गृह मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै आपत्ति जनाएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको हो ।

‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ,’ मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दार्चुलामा नेपाली नागरिक तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनालाई लिएर नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो ।

गृह मन्त्रालयले मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधि नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिने पनि जनाएको छ ।

‘नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिवद्ध छ । मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित
Loading...