नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा र गगन थापा महामन्त्रीमा भिड्ने भएका छन् । केन्द्रीय सदस्य समेत रहेका शर्मा र थापा १४ औं महाधिवेशनमा आमनेसामने हुन लागेका हुन् ।
थापाले गत भदौ १४ गते काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा भएको कार्यक्रमबाट आफू महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गरिसकेका छन् । उनी संस्थापनइतर समूहमा छन् ।
कांग्रेसमा मनोनित महामन्त्री हुने यसअघिको व्यवस्था विधानबाट हटाइएका कारण यसपालिदेखि दुई वटा महामन्त्री प्रत्यक्ष निर्वाचनमार्फत् चयन हुनेछन् । महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् ।
२०७२ सालमा भएको १३ औं महाधिवेशनमा थापा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्री पदमा लडेर पराजित भएका थिए । त्यसबेला पौडेल पक्षबाट महामन्त्री पदका उम्मेदवार कोइराला विजयी भए भने देउवा पक्षबाट अर्जुननरसिंह केसी र सिटौला पक्षबाट उठेका थापा पराजित भएका थिए । केसी र थापा अहिले संस्थापनइतर समूह पौडेलनिकट देखिएका छन् ।