लागुऔषध मुद्दामा पत्रकार फसाएको आरोप लागेका रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाह बयानका लागि काठमाडौं झिकाइएका छन् ।
बुधबार प्रहरी प्रधान कार्यालयले शाहलाई बयानका लागि काठमाडौं बोलाएको जनाएको छ । प्रधान कार्यालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिले काम सुरू गरेकै दिन शाहलाई काठमाडौं झिकाइएको हो ।
प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले शाह रौतहटबाट काठमाडौं आएको बताए । छानबिनका क्रममा केही कुरा बुझ्नुपर्ने भएकाले उनी काठमाडौं आएको कुँवरले बताए ।
प्रधान कार्यालयले उक्त प्रकरण छानबिन गर्न एसएसपी कृष्णकुमार महतको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। उक्त समितिले काम सुरू गरिसकेको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
रौतहट जिल्ला प्रहरी कार्यालय अहिले प्रहरी नायब उपरीक्षक नारायण चिमरियाको जिम्मामा छोडिएको छ । नयाँ प्रहरी प्रमुख पठाउने–नपठाउनेबारे प्रधान कार्यालयले निर्णय गरिसकेको छैन ।
गत साउन ३२ गते प्रहरीले लागुऔषधसहित पत्रकार मोहम्मद मोजिबुल्लाहलाई पक्राउ गरेको थियो। उनीसँगै माधवनारायण १ बस्ने वर्ष २४ को धिरज यादव र सर्लाही रामनगर गाउँपालिका वडा नं. १ बहुअर्वा बस्ने वर्ष २३ को जितेशकुमार यादव पक्राउ परेका थिए ।
यादवद्वयलाई प्रयोग गरी मोहम्मद मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा पनि प्रहरीले लागुऔषध राखेको पत्ता लागेको थियो । सई उदयप्रसाद यादव र जवान मनोज साह कानुलाई बोलाएर लागुऔषध राख्न लगाएको आरोप लागेको छ । ती दुबै प्रहरी निलम्बनपछि हिरासतमा छन् ।