प्रदेश १ मा एमालेका भीम आचार्य मुख्यमन्त्री बन्दै

प्रदेश नम्बर १ मा नेकपा एमालेका भीम आचार्य मुुख्यमन्त्री बन्ने भएका छन् । एमाले विभाजनपछि प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि आजै एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठकले तेस्रो धारबाट एमालेमा विलय भएका आचार्यलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ ।

एमाले संसदीय दलको नेता बनाएपछि शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिने र प्रदेश प्रमुख समक्ष आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरिने तयारी छ । वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई गरेजस्तै प्रक्रिया पुर्याएर आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने एमालेले तयारी गरेको एक नेताले बताए ।

मुख्यमन्त्री नियुक्त भइसकेपछि आचार्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । प्रदेशसभाको अंक गणित हेर्दा एमालेका चारजना सांसद मात्रै माधव नेपालको पक्षमा लागे भने आचार्यले बहुमत पाउने अवस्था छैन । माधव नेपाल पक्षले त्यहाँ ९ जना सांसदहरु आफ्नो पक्षमा रहेको बताउँदै आएको छ ।

प्रदेश १ को कुल सांसद संख्या ९३ हो । सरकार बन्नका लागि चाहिने बहुमत संख्या ४७ हो । आजका दिनसम्म नेकपा एमालेसँग एकल बहुमत अर्थात् ५१ सांसद छन् । तर यीमध्ये पाँचजना सांसद मात्रै माधव नेपालको पक्षमा लागेको खण्डमा एमालेको बहुमत गुम्ने निश्चित छ ।

यसअघि एमाले सचिव भीम आचार्य माधव नेपाल पक्षमा रहँदा १८ सांसद माधव नेपालको पक्षमा खुलेका थिए भने ३३ जना ओलीको पक्षमा थिए । तर, तेस्रो धारमा रहेका आचार्य एमालेमै समाहित भएपछि पुरानो समीकरणमा केही फेरबदल आएको छ । अब माधव नेपालको पक्षमा राजेन्द्रकुमार राईसहित ९ सांसद रहेको नेपाल पक्षको दाबी छ ।

भीम आचार्यसँग अन्तरविरोध भएका कारण माधव समूह छाडेर मन्त्री बनेका राजकुमार ओझाले अब भीम आचार्यलाई साथ नदेलान् कि भन्ने माधव पक्षमा आश देखिन्छ ।

संखुवासभाका एमाले नेता पर्शुराम मेघी गुरुङ माधव नेपालतिर नलागी एमालेमै रहेका कारण त्यहाँका दुईजना प्रदेशसभा सदस्य एमालेमै रहन्छन् या माधव पक्षमा अडिन्छन् भन्ने खुलिसकेको छैन । संखुवासभाका दुई प्रदेशसभा सदस्य सरिता खड्का र पदम कुमारी गुरुङ यसअघि माधव समूहमा खुलेर लागेका सांसद हुन् ।

ताप्लेजुङका प्रदेश सांसद बलबहादुर थाम्सुहाङ हिजोसम्म माधव नेपाल समूहकै नेता हुन् । योगेश भट्टराई र तिलकुमार मेन्याङ्बोले माधव नेपालको साथ छाड्दा पनि उनी माधव नेपालकै निकट रहेका सांसद हुन् । तर, उनी पनि अहिले कन्फ्युजनमा परेका छन् ।

सम्बन्धित
Loading...