काठमाडौं । नेपाली कांग्रेसमा पार्टी महाधिवेशनको मिति तोकिएर आवश्यक तयारी भइरहेका छन् । पार्टीको नीति र नेतृत्व चयन गर्ने महाधिवेशनमो मुखैमा पार्टीभित्र नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने आवाज उठेको छ ।
कांग्रेसमा हिन्दूराष्ट्रको आवाज पुरानै भए पनि पुनः त्यो आवाज प्रकट हुन थालेको छ । कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने बताउनुभएको छ । भण्डारी लगायत अन्य नेताहरू समेत हिन्दू राष्ट्रको बारेमा खुलेरै बोल्ने गरेका छन् ।
तनहुँको व्यास नगरपालिका–१० सिसुवा भतेरीमा स्थानीय गाईको संरक्षण गर्न निर्माण गर्न लागिएको ट्रस्टको आईतबार शिलान्यास गर्दै नेता भण्डारीले नेपालमा अधिकांश हिन्दू जनता भएकाले सनातन हिन्दू राष्ट्र सहितको राष्ट्र घोषणा गर्नुपर्ने बताउनुभयो ।
धार्मिक भावना घट्दै गएकाले देशमा हत्या, हिंसा, बलात्कारजन्य घटना बढ्दै गएको बताउँदै उहाँले धर्मले सदाचारी नेता, नैतिकवान कर्मचारी तथा शान्त समाज निर्माणमा सहयोग पुग्ने भएकाले हिन्दू राष्ट्रको संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपालमा करीब ६० प्रतिशत धार्मिक पर्यटक आउने गरेको र हिन्दू राष्ट्र घोषणा गर्दा पर्यटकको संख्या अझ बढ्ने उहाँको विश्वास छ । लक्ष्मी पूजा लगायतका हाम्रो धर्ममा गाई अनिवार्य आवश्यक पर्ने हुँदा यसको संरक्षणका लागि स्थानीय तहबाटै पहलकदमी गरिनुपर्ने उहाँको भनाइ छ ।
‘गौ मातालाई स्वास्थ्य राख्नका लागि पौष्टिक आहार व्यवस्था गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।