एमालेको २६० सदस्यीय कमिटीले मान्यता नपाउने भएपछि माधवलाई फाइदा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटि विस्तार गर्दै पठाएको विवरण निर्वाचन आयोगले अद्यावधीक नगर्ने भएको छ । पार्टीका केन्द्रीय सदस्यको संख्या थप्दै निर्वाचन आयोगलाई पठाएको २६० सदस्य सङ्ख्यालाई आयोगले तत्काल मान्यता नदिने भएको हो ।

निर्वाचन आयोगका अनुसार कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगले तयारी गरेको छ ।

नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको अवस्थामा आयोगले एमालेको २०३ सदस्यीय साबिककै केन्द्रीय कमिटीलाई मान्यता दिने भएको हो ।

निर्वाचन आयोगले माधव नेपाल पक्षलाई फरक पार्टी ‘नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि सनाखत गर्न आगामी भदौ ९ गते बोलाएको छ । सनाखतका क्रममा नेपाल पक्षले अब २६० को २० प्रतिशत नभई २०३ बाटै २० प्रतिशत पु¥याउँदा हुने भएको छ ।

एमाले अध्यक्ष ओलीले अद्यावधिक गरेको २६० सदस्यीय केन्द्रीय कमिटीलाई आयोगले आधार नमान्ने भएको छ । गत मंगलबार भदौ १ गते एमाले पार्टीको निर्णयको आधिकारिक माइन्युटसहित एमालेले केन्द्रीय सदस्यहरूको नाम थपेर २०३ को ठाउँमा २६० पारेर आयोगलाई विवरण दिएको थियो ।

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गरेलगत्तै नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यको सङ्ख्या बढाएर निर्वाचन आयोगमा अद्यावधि गर्न पठाएको थियो । नेता माधव नेपालको पार्टी दर्ता गर्ने सङ्ख्या नपुगोस् भन्ने उद्देश्यले ओलीले एकाएक केन्द्रीय सदस्यहरूको नाम थपेर आयोगमा अद्यावधिक गर्न पठाएको माधव पक्षले आरोप लगाउँदै आएको थियो ।

सम्बन्धित
Loading...