प्रदेश नम्बर २ सरकार मुख्यमन्त्री स्वच्छता अभियानको नाममा कार्यकर्तादेखि श्रीमतीसम्मलाई पाल्न थालेको छ । प्रदेशलाई सफा र स्वच्छ बनाउने भन्दै मुख्यमन्त्री लालबाबु राउतले आफ्नै कार्यालय मातहत मुख्यमन्त्री स्वच्छता अभियानलाई राखेका छन् ।
स्वच्छता कार्यक्रम अन्तर्गत धार्मिक तथा सांस्कृतिक महत्त्वका पोखरीको संरक्षण र मर्मत सम्भार तथा निर्माणको काम निरन्तर भइरहेको मुख्यमन्त्री कार्यालयका अधिकृत सुरेन्द्र कर्णले जानकारी दिए ।
गत आर्थिक वर्ष ०७७÷७८ मा स्वच्छता कार्यक्रमका लागि ५४ वटा योजनामा बजेट विनियोजन गरेको कर्णले बताए । उनले भने– ‘गत आर्थिक वर्षमा ५३ करोड ४० लाख रुपैयाँ बजेट छुट्याएका थियो । चालु आर्थिक वर्षमा ३१ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।’
प्रदेशमा रहेको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वका क्षेत्र, पोखरी, सरकारी कार्यालय र सार्वजनिक स्थलको मर्मत सम्भार तथा सरसफाइलाई ध्यानमा राखेर मुख्यमन्त्री स्वच्छता अभियान सञ्चालनमा ल्याइएको थियो । तर, करोडौँको बजेट रहेको मुख्यमन्त्री स्वच्छता अभियानको नाममा कार्यकर्ता तथा नातागोता भर्ती केन्द्र गर्दै आर्थिक अनियमितताको अखडा बनेको छ । मुख्यमन्त्री स्वच्छता अभियानमा मुख्यमन्त्री राउतले आफ्नै भतिजा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यामप्रसाद भुसालका छोरालाई करारमा नियुक्त गरेका छन् ।
त्यस्तै मुख्यमन्त्री राउतका प्रेस संयोजक समेत सम्हाल्दै आएका आतिश मिश्रलाई समेत मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमको अधिकृतस्तर (सातौँ) मा नियुक्ति दिइएको छ ।
त्यस्तै सचिव भुसालका छोरा प्रदीप भुसाललाई सहायक समन्वयकर्तामा नियुक्त गरिएको छ भने सचिव भुसालकी श्रीमती टीका भुर्तेललाई पनि दैनिक ज्यालादारीमा नियुक्त गरिएको छ ।
अन्य कर्मचारीहरूले समेत अरू मन्त्री र नेता निकटका छन् । सचिव भुसालले स्वच्छता कार्यक्रममा परिवारका सदस्य नियुक्त गरेको स्विकार्दै जो सुकै कार्यालयमा आएर आफूलाई थर्काउने गरेकाले छोरालाई नियुक्ति गरेको उनले भने । सचिव भुसाल भने– ‘मुख्यमन्त्री कार्यालयमा बस्दा दलका नेता कार्यकर्ता आएर थर्काउँछन् । आफूलाई सहयोग होस् भनेर छोरालाई पनि नियुक्त गरेर सँगैको कार्यालयमा राखेको छु ।
मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमले विभिन्न तहमा १० जना कर्मचारी नियुक्त गरेको छ । करारमा ३ जना सातौँ तह, १ जना छैटौँ तह, २ जना पाँचौँ तह र ४ जना श्रेणीविहीनमा नियुक्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७६÷०७७ को प्रतिवेदनमा यस स्वच्छता अभियान अन्तर्गत ठूलै रकमको अनियमितता भएको उल्लेख छ । मुख्यमन्त्री राउतले आफ्नो कार्यकर्ता आफन्तलाई पोस्ने गरी योजना ल्याएको आरोप लाग्दै आएको छ ।