भीम रावलसहितका नेताहरुले भने १० बुँदे कार्यान्वयन गरौँ, माधव नेपाल एमाले फर्किनुुस्

एमाले विभाजनको विपक्षमा उभिएर माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले १० बुँदे सहमतिको कार्यान्वयनमा जोड दिएका छन् । साथै उनीहरुले नयाँ पार्टी दर्ताबाट पछाडि हट्न नेता नेपाललाई आग्रह समेत गरेका छन् ।

शुक्रबार सघीय राजधानी काठमाडौँमा बसेको बेन्द्रीय सदस्य र सांसदहरुको छलफल यस्तो निष्कर्षमा पुगेको नेता गोकर्ण बिष्टले जानकारी दिए । दल विभाजन गर्न ल्याइएको अध्यादेशको विरोध जारी राख्ने निष्कर्ष पनि छलफलबाट निस्केको उनले बताए।

‘भेलाले एकता प्रयास जारी राख्ने, दल विभाजन अध्यादेशको विरोध गर्ने र १० बुँदे सहमति कार्यान्वयनमा जोड दिने निर्णय गर्यो,’ बिष्टले भने, ‘माधव नेपालसहित १४ जनामाथिको कारबाहीलाई फिर्ता लिन आग्रह गर्ने र दल दर्ताबाट माधव नेपाललाई फिर्ता हुने आग्रह गरेका छौं।’

एमाले विभाजनबाट रोक्न अध्यक्ष केपी ओली पनि लचक र जिम्मेवार हुनपर्ने उनीहरुको भनाइ छ। दल विभाजन गर्ने अध्यादेशले नेपालको संविधानलाई खिल्ली उडाउने काम गरेको भन्दै पार्टीलाई एकतावद्ध पार्ने प्रयत्न जारी राख्ने निर्णय भएको बिष्टले बताए।

केपी ओली र माधव नेपाललाई भेटेर आफ्ना भनाइ राख्ने उनले जानकारी दिए। नेता भीम रावलले आजको सबै निर्णय समेटेर संयुक्त वक्तव्य निकाल्ने जानकारी दिए। आजको बैठकमा ५७ जना केन्द्रीय कमिटी सदस्य र सांसद उपस्थित भएको बिष्टले बताए ।

सम्बन्धित
Loading...