राजावादी उत्साही भए, राजतन्त्र पुनःस्थापना हुने खतरा बढ्यो :माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र पुनःस्थापना हुने खतरा बढेर गएको बताएका छन् । आफूनिकट जनवर्गीय संगठनलाई मंगलवार भर्चुअल सम्बोधन गर्दै नेता नेपालले ओलीले गरेका कामका कारण राजावादीहरू उत्साही भएको आरोप लगाए ।

‘राजतन्त्र पुनःस्थापना हुने खतरा बढेर गएको छ, धर्मनिरपेक्षताको नीति धर्मराउन थालेको छ । संघीयता विरोधी आवाज उहाँ नजिकका व्यक्तिले उठाइरहेका छन्,’ उनले भने ।

ओलीकै कारण आफूहरू पार्टी पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेको समेत नेपालले बताए । नयाँ पार्टी खोले पनि भोलिको दिनमा केपी ओलीले सबै गल्ती स्वीकार गरेमा उनीसँग एकता या सहकार्य पनि हुनसक्ने उनको भनाई थियो ।

‘पार्टी पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेका छौं, फेरि आन्दोलनको झण्डा बुलन्द गरिने छ । नेपाली जनताको प्यारो शक्तिको रूपमा अगाडि बढाउने छौं । अहिलेसम्मका पार्टीसँग एकताको सम्भावना छैन, सहकार्य गर्नेछौं,’ नेपालले भने, ‘कारवाहीबाट विचलित हुने छैनौं । नयाँ पार्टी खोले पनि केपी ओलीले विगतमा सबै गल्ती स्वीकार गरे भने अहिले पनि, भोलि पनि, ३ महिनापछि पनि एकता होला, चुनावमा सँगै लड्न सकिएला ।’

नेता नेपालले भने, ‘प्रकाश ज्वालालाई निकाल्ने र २०३ सदस्यको केन्द्रीय सदस्य संख्या बढाएर २६० बनाउनुभयो भन्ने सुनें । साँचो हो कि झूटो हो ? माधव नेपाल र रामकुमारी लगायत १४ जनालाई पदमुक्त गर्नुभएको छ रे !’ नेपालले भने, ‘हामी गम्भीर अवस्थामा उभिएका छौं । केहीबेरअघि केन्द्रीय सदस्यको भेला गरेका थियौं, उहाँहरूले पार्टीलाई विभाजनबाट जोगाउने गर्नुस् भने, त्यसअनुसार घनश्याम भुसाल आएर एकताको अन्तिम प्रयत्न गर्नुस् भने तर ओली सहमत हुनुभएन ।’

ओलीले आजसम्म गरेका सबै निर्णय फिर्ता लिने र पहिले दिएका वचन पूरा गरेमा एकता हुन्छ भनेर भुसाललाई पठाएको नेपालले बताए ।

सम्बन्धित
Loading...