काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।
आगामी साउन ६ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।
आईतबार दिउँसो ३ बजे बस्ने गरी तय भएको बैठक फेरि स्थगित भएको नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।
शनिबार बसेको सचिवालय बैठकमा आईतबारको बैठक बस्ने समझदारी भएकोबारे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको थियो । तर सचिवालयको समझदारी उल्टिने गरी अन्तिम समयमा आएर बैठक स्थगित भएको छ ।
यसअघि समेत पटक–पटक नेकपा बैठक स्थगित हुँदै आएको छ । नेकपाभित्र विवाद चलिरहेका बेला बैठक प्रभावित भएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबूकमा स्टेटस लेखेर स्थायी कमिटी बैठक स्थगित भएको जानकारी दिने गरे पनि आईतबार पार्टी कार्यालयबाटै औपचारिक विज्ञप्ति जारी भएको छ ।
