तालिवानले एकपछि अर्को राज्य कब्जा गर्न थालेपछि पछिल्लो ११ दिनयता अफगानिस्तानबाट १६४ जना नेपाली स्वदेश फर्किएको पाइएको छ ।
अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालका अनुसार अगस्ट ५ तारिखयता अफगानिस्तानबाट १ सय ६४ जना नेपाली र २ जना अफगानी नागरिक त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् ।
‘यही अगस्ट ५ तारिखयता १६४ जना नेपाली अफगानिस्तानबाट स्वदेश फर्किएका छन्,’ अध्यागमन स्रोतले दिएको जानकारीलाई पुष्टि गर्ने क्रममा प्रवक्ता ढकालले भने ।
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले पनि अफगानिस्तानबाट नेपालीहरू स्वदेश फिर्ता भइरहेको बताए ।
‘उहाँहरू आइरहनुभएको छ, तर हामीले उता भने जान दिएका छैनौं,’ महानिर्देशक भट्टराईले भने ।
अफगान नागरिकलाई भित्रिन नदिने भन्ने कुनै नीति वा निर्णय नरहेकाले उनीहरू पनि भित्रिएको हुनसक्ने भट्टराईको भनाइ छ ।
‘कोभिडका कारण विदेशमा रहेका नेपाली, एनआरएन र कूटनीतिक नियोगका व्यक्तिहरूलाई आउन दिने भन्ने छ, त्यसको मापदण्डभित्र पर्ने भएकाले आउनुभएको हुनसक्छ, तर त्योभन्दा बाहिरका आउनुभएको छैन,’ महानिर्देशक भट्टराईले भने ।
अफगानिस्तानको राजधानी काबुलमा समेत तालिबानले कब्जा जमाइसकेको । त्यहाँ रहेका सयौं नेपाली नागरिकको अझै उद्धार हुन सकेको छैन ।
केहीलाई भने उनीहरू कार्यरत कम्पनी वा नियोगहरूले नै दुबई, कतार लगायतका मुलुकमा लगेर छाडेको बताइएको छ ।