एमालेमा सहमति जुटाउन भीम रावलको सक्रियता, राष्ट्रपति भण्डारीसँग लामो छलफल

पार्टी विवाद मिलाउन नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सक्रियता बढाएका छन् । १० बुँदे सहमति गर्न माधव नेपाल पक्षबाट कार्यदलको संयोजक रहेका रावलले पार्टी विवाद मिलाउन शनिवार राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

दिउँसो अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आजका लागि राखिएको केन्द्रीय कमिटी बैठक स्थगित गर्न लगाएका थिए । राष्ट्रपति भण्डारीसँग शनिवार साँझ शीतल निवासमा २ घण्टा लामो छलफल भएको थियो ।

भेटमा रावलले पार्टी एकताका लागि पहल गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका स्रोतले बतायो । रावलको अडानपछि शुक्रवार सम्पन्न माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमतिलाई आधार मानेर पार्टी एकता गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

यसअघि १० बुँदे सहमतिको स्वामित्व लिन इन्कार गर्दै आएका नेता नेपालले केन्द्रीय कमिटी बैठकमार्फत् १० बुँदेको आधारमा पार्टी एकता गर्नुपर्ने निष्कर्ष निकालेका थिए । आइतवारका लागि निर्धारित केन्द्रीय कमिटी बैठक स्थगित पछि पार्टीमा सहमतिको प्रयास स्वरुप एमालेका दोस्रो तहका नेताहरूले छलफल अगाडि बढाएका छन् ।

सम्बन्धित
Loading...