केपी शर्मा ओली नेतृत्वको सरकारले लाइन नमिल्ने विभिन्न देशका राजदूतलाई पदमुक्त गरेर आफ्ना मान्छे पठाएको थियो । ओलीको ठाउँ लिएका शेरबहादुर देउवाले अहिले ठ्याक्कै पूर्ववर्ती सरकारकै सिको गरेर विभिन्न देशका राजदूत फिर्ता बोलाउने तयारी अघि बढाएको छ ।
स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयले नेतृत्व पाएलगत्तै यो काम अघि बढाउने सरकारको तयारी छ । अमेरिकाका राजदूत युवराज खतिवडालाई पहिलो घानमै निशाना बनाइँदैछ । एमालेमा अलोकप्रिय भएपनि ओलीको प्रिय पात्र बनिरहन सफल खतिवडा ५ महिनाअघि राजदूतका रूपमा अमेरिका पुगेका थिए ।
माओवादी कोटाबाट राजदूत बनेका लीलामणि पौड्याललाई फिर्ता बोलाएर चीनको राजदूत बनाइएका महेन्द्रबहादुर पाण्डेको पनि बेइजिङबाट स्वदेश फर्किने दिन नजिकिन थालेको कांग्रेसका नेताहरुबीच चर्चा हुन थालेको छ ।
कुशल कार्यसम्पादन गर्दागर्दै ओलीको कोपभाजनमा परेको भन्दै त्यहाँ पुनः उनै पौड्याललाई राजदूत बनाएर पठाउन एकथरीले लबिङ थालेका छन् । पौड्याल स्वयं पनि माओवादीको समर्थनमा देउवा प्रधानमन्त्री बनेपछि लाइन मिलाउन सक्रिय रहेको चर्चा छ ।
अहिले कांग्रेसको हेडक्वार्टर सानेपा र परराष्ट्र मन्त्रालयतिर चलेको चर्चाले आकार लिएमा लोकदर्शन रेग्मीको लन्डन बसाइँ पनि छिट्टै टुंगिने छ । आरजु राणा निकट भनेर चिनिएका रेग्मी तत्कालीन प्रधानमन्त्री ओलीलाई प्रभावित पारेर ४ महिनाअघि मात्रै राजदूतका रूपमा बेलायत पुगेका थिए ।
स्रोतका अनुसार, देउवा सरकारले फिर्ता बोलाउने तयारी गरेपछि उनले धूलोले भरिएको डायरी टक्टकाएर कांग्रेसी नेताहरूसँग हिमचिम बाक्लो बनाउन थालेको चर्चा छ । रेग्मीले आफूलाई थमौती गर्न प्रयास गरे पनि उनको चाहना पूरा हुने सम्भावना निकै कम रहेको बताइन्छ ।
इजरायलकी अञ्जान शाक्य, भारतका नीलाम्बर आचार्य, ओमनकी शर्मिला पराजुलीलगायत राजदूतलाई पनि देउवा नेतृत्वको सरकारले परिवर्तन गर्ने अनुमान गरिएको छ । आचार्य दिल्ली पुगेको लामै समय भए पनि अन्य राजदूत केही महिनाअघि मात्रै त्यता पुगेका हुन् ।
त्यसैगरी, केही कूटनीतिज्ञ आफ्नो जिम्मेवारी पूरा गरेर स्वदेश फर्किएका छन् । दी राइजिङ नेपालको सम्पादक रहेकै बेला माओवादीबाट डेनमार्कको राजदूत नियक्त भएका युवराज लम्साल केही दिनअघि मात्रै नेपाल ओर्लिएका छन् ।
हिंसाको दुष्चक्रमा फसेको म्यान्मारमा राजदूतको राम्रो भूमिका निर्वाह गरेर भीम उदास पनि फर्किएका छन् । पद खोसिए पनि निषेधाज्ञाका कारण अस्ट्रेलियामै थुनिएका महेशराज दाहाल पनि अघिल्लो साता नेपाल फर्किएको खबर छ ।