काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् श्रीरामको जन्मभूमि भारतको अयोध्या नभएर नेपालको ठोरीमा भएको अभिव्यक्ति दिनुभएपछि जनस्तरमा बहस भइरहेको छ ।
आदिकवि भानुभक्त आचार्यको जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले नक्कली अयोध्या बनाएर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाउनुभएको थियो ।
ओलीको अभिव्यक्तिपछि पक्ष–विपक्षमा बहस भइरहेका बेला प्रधानमन्त्री ओलीमाथि नागरिकस्तरबाट गम्भीर सवाल खडा गरिएका छन् । कैलालीको धनगढीका नागरिक सिताराम भट्टले सामाजिक सञ्जाल फेसबूकमा राखेका सवाल जस्ताको त्यस्तै –
‘नेपालको धर्म, संस्कृति र धार्मिक–सांस्कृतिक पहिचानप्रति उहाँको अगाध प्रेम छ’ भन्ने कुरा म अस्वीकार गर्दिन ! तर यो बोधो दिमागमा केही प्रश्नहरू घर गरेर बसेका छन् –
१. नेपालको अन्तरिम संविधानमा आफ्नो पार्टीका, आफ्नै गुटका अझ आफ्नै छिमेकी जिल्लाका तत्कालीन सभामुखलाई सुटुक्क ‘धर्म–निरपेक्षता’ घुसाउन लगाउने उहाँ नै होइन र ? (यद्यपि त्यतिखेरका अन्य ठूला दल पनि त्यतिकै दोषी छन् यसमा)
२. आफ्नो पदीय गरिमा बिर्सेर होलीवाइन चखाउने माताको सेवा गर्न आफू तारे होटलमा बस्ने अनि देशभरिका नेता कार्यकर्तालाई होलीवाइन चाख्न निर्देशन दिने उहाँ नै होइन र ?
३. जिन्दगीभर ‘द्वन्द्वात्मक भौतिकवाद’ जप्ने–जपाउने गर्दैमा व्यस्त रहनुभयो । अहिले अध्यात्मप्रेम कहाँबाट पलायो होला ?
४. रूस र चीनबाट आयातीत लाल भगवानहरूका तस्वीरहरू उहाँहरूका प्रायः कार्यकक्ष र पार्टी कार्यालयमा हुन्छन् । उहाँको कुन चै अफिसमा भगवान् रामको फोटो छ, हँ ?
५. ‘धर्म अफिम हो’ भन्ने गुरु–मन्त्र बदलिएर कसरी ‘धर्म भनेको सांस्कृतिक पहिचान हो’ भन्ने भएछ ?
६. प्रधानमन्त्रीमा रूपमा दोस्रो कार्यकाल आधा हुन लाग्दा राम जन्मभूमि पहिचान र प्रचार गर्न कतिवटा अध्ययन कार्यदल बनाउनुभयो ? कति रकम लगानी गर्नु भो ?
७. अनुसन्धान गृहहरूमा कारिन्दा भर्तीलाई निरन्तरता दिने उहाँ पनि होइन र ? जस्तैः स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीसौं वरियताकी आफ्नी सहयोगी डाक्टरलाई डीन बनाउने उहाँ नै होइन र ?
८. आफ्नो गृहजिल्ला झापामा २.४ अर्बको भ्यूटावर बनाउंँदै गर्दा धर्म संस्कृतिका लागि, अध्ययन उत्खनन् गराउन कति लगानी गर्नु भो ? कतिवटा राष्ट्रिय/अन्तर्राष्ट्रिय गोष्ठी वा छलफल गराउनु भो ? कतिजना विज्ञलाई खटाउनु भो ?
९. सुधीर शर्माको पुस्तक ‘प्रयोगशाला’को शुरूमै ‘र’का कर्मचारीसँग उहाँको राम्रै उठबस ठाउँ र मिति समेत उल्लेख छ । अहिलेसम्म त्यसको खण्डन नगरी मौन स्वीकार गरेर बस्ने उहाँ नै होइन र ?
१०. आफ्नो कुर्सी आफ्नै सहकर्मीहरूले ढलपल गर्दा ‘मलाई भारतले हटाउँदै छ’ भन्ने भाषण गरेर कदाचित हटिहाले पनि ‘भारतीय एजेन्टले हटाए’ भन्ने माहोल बनाउने उहाँ नै होइन र ?
यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ पाएँ भने म उहाँको सबैभन्दा कट्टर समर्थक हुनेछु । भुलचुक क्षमा गर्नुहोला ।