लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवसरवाद, अस्थिरता र महत्वकांक्षाका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको बताएका छन्।
नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेता पोखरेलले प्रचण्ड एउटै व्यक्तिमा पैदा भएको अवसरवाद, अस्थिरता र महत्वाकांक्षाका कारण देशको राजनितिमा संकट उत्पन्न भएको मात्र होईन एमालेभित्रको अन्तरविरोधलाई समेत मलजल गरेको पोखरेलको आरोप छ।
बुटवलमा ‘जिउँदा जीवराज’ नामक वृत्तचित्रको सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले पछिल्लो तीनरचार वर्षमा संघ, प्रदेश र स्थानीय सरकारका माध्यमबाट तयार गरिएका विकासका आधारशिला पुरा गर्नसके प्रचण्डबीनाको वामपन्थी एकता कायम गर्न सकिने बताए।
उनले अहिले पनि एमाले पहिलो शक्ति रहेको र भोलि पनि पहिलो शक्ति नै बन्ने दाबी गरे। ‘प्रचण्डको अवसरवाद, अस्थिरता र महत्वाकांक्षाले नै नेकपा विभाजन भयो र एमालेभित्रको अन्तरविरोधमा खेलेर एमाले फुटाउने काममा पनि प्रचण्ड लाग्नुभएको छ,’ उनले भने।
पोखरेलले अहिले एमाले पार्टीको आन्तरिक जीवन कठिन मोडमा रहेको उल्लेख गर्दै अहिलेको अवस्थामा आश्रीतको अभाव झनै खड्किएको बताए। ‘अहिले पार्टीभित्रको अनुशासन उलंघन गर्दै पार्टीलाई नै जुन हाकाहाकी चुनौती दिँदै हिड्ने काम भएको छ, आश्रीत हुनुभएको भए उनीहरूले माफी पाउने थिएनन् र अनुशासन उल्लंघन गर्ने आँट पनि गर्ने थिएनन्।’
पोखरेलले पार्टीको अनुशासनमा नबस्ने जो कोहीलाई पनि ढिलोचाँडो कार्यकर्ताले दण्डित गर्ने बताए। हिजो राज्यसत्ता विरूद्ध आन्दोलन छेड्ने आश्रीतको योगदानबाट बलियो बनेको एमालेका कतिपय नेताहरु नै अहिले सत्ताको लागि पार्टीलाई कमजोर बनाउँदै पार्टीकै विरुद्धमा लागेको बताए।
उनले आश्रीतले गरेको त्याग र योगदान पार्टीभित्र अहिले ल्याईएको कचिंगलको लागि नभएको भन्दै उनको योगदानबाट समेत शिक्षा लिनुपर्ने बताए।
पोखरेलले नेपालमा जबजब बामपन्थी शक्ति एक हुने र बलियो बन्दै जान्छन्, विभिन्न देशी विदेशी प्रतिकृयावादी शक्तिहरु मिलेर बामपन्थी शक्तिलाई कमजोर बनाउने गरेको बताए।
पोखरेलले नेपालको पछिल्लो संविधान वामपन्थी पार्टीको सहभागिता र संलग्नतामा बनेको उल्लेख गर्दै वामपन्थीको नेतृत्व बिना संविधान कार्यान्वयन हुन नसक्ने दाबी गरे। ‘नेपालको अहिलेको संविधान वामपन्थीको संलग्नता र नेतृत्वमा बनेको पहिलो संविधान हो, वामपन्थी सरकार बाहेकले यसको कार्यान्वयन गर्न सक्दैन,’ पोखरेलले भने।