दार्चुला घटनाबारे छानविन समिति गठन गरौं : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलामा भएको घटनाको सत्यतथ्य छानबिनका लागि समिति गठन गरी अनुसन्धानको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् । अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा आज राजधानीमा आयोजित अखिल फोर्स बृहत् भेलालाई सम्बोधन गर्दै नेता नेपालले सो सुझाव दिएका हुन् ।

शुक्रबार दार्चुलाको व्यास गाउँपालिका २ स्थित मालघाटबाट सोही स्थान निवासी ३० वर्षीय जयसिंह धामी भारतको पिथौरागढस्थित पांगल जाने सिलसिलामा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बलले तुइनको डोरी झिकिदिएपछि उनी वेपत्ता भएका थिए ।

उनले लोकतन्त्र र परिवर्तनको खम्बाका रूपमा स्थापित विद्यार्थी सङ्गठनलाई गलत प्रवृत्तिका विरुद्धमा सतिसालझै उभिन निर्देशन समेत दिए । अहङ्कारले मानिसलाई पतन गराउने भएकाले निरंकुश र स्वेच्छचारी प्रवृत्ति नियन्त्रणका लागि इमान्दार र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिँदै नेपालले संगठनको ओजलाई थप उचाइमा पुर्याउन आग्रह गरे ।

वरिष्ठ नेता नेपालले भने, ‘राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको देशभक्त नेपाली विद्यार्थी अखिलबाट पुर्खाको सम्मान र इतिहासप्रति गौरव होस्, सङ्गठनको ओजलाई थप उचाइमा पुर्याउनुस्, सही विचार मार्क्सवाद हो, यसको अध्ययन गर्नुस् ।’ उनले लोकतान्त्रिक आन्दोलनको प्रभावलाई ठिक बाटोमा ल्याउने काममा सर्वोच्च अदालतबाट भएको निर्णयप्रति सम्मान व्यक्त गर्दै प्रतिनिधिसभाका सदस्यहरूले संविधान र लोकतन्त्रको रक्षा गर्न खेलेको भूमिकाले आगामी दिनमा जालझेल र षड्यन्त्र गरेर प्रतिनिधिसभा विघटन गर्ने दुष्प्रयास गर्न नसक्ने धारणा व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सुसंस्कृत, सभ्य र मूल्य मान्यतामा आधारित समाज निर्माणमा नेतृत्वदायी भूमिका खेल्न सुझाव दिँदै लामो समयदेखि गलत बाटोमा गइरहेको कम्युनिष्ट आन्दोलनमा सही दिशामा हिँडाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन नेपाल समूहका अध्यक्ष सुरेश पराजुलीले राष्ट्रियता, लोकतन्त्र र परिवर्तनका आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको सङ्गठनले पार्टी र वाम एकताको पक्षमा निरन्तर लागिरहेको बताए । अखिल फोर्सका अध्यक्ष टपेन्द्रजङ्ग शाहीले विचारबाट सुसज्जित भएकाले विचार, नीति र निष्७शधवसठाको संस्कारलाई अघि बढाउन सबैलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए ।

सम्बन्धित
Loading...