नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले समान हैसियतविना केपी ओलीसँग एकता असम्भव रहेको प्रष्ट पारेका छन् । त्यसैगरी सरकारमा जानेबारे एक सातासम्म कुर्न नेता नेपालले आफ्नो समूहका नेताहरुलाई आश्वासन दिएका छन् ।
आफू पक्षीय २२ सांसदहरुसँगको छलफलमा बुधबार नेता नेपालले खासगरी सरकारमा सहभागिताको विषय र पार्टी एकताबारे २ वटा कुरामा प्रष्ट पारे । नेता नेपालकोे पहिलो प्राथमिकता थियो – पार्टी एकताको प्रसंग र दोस्रो सरकार बारेको चर्चा ।
प्रतिनिधि सभा पुर्नस्थापना र देउवा नेतृत्वको सरकार निर्माणमा निर्णायक भुमिका खेलेको माधव समूह पछिल्लो समय आफ्नो भुमिका के हुने भन्नेमा स्पष्ट हुन सकेको छैन । सत्तारुढ गठबन्धनले सरकारमा सहभागी हुन गरेको आग्रहलाई माधव समूहले तत्काल सरकारमा सहभागी नहुने जवाफ दिइसकेको छ । तर, आफ्नै समूहभित्र भने नेता नेपाललाई सरकारमा जानुपर्ने चर्को दबाव छ ।
बुधबारको छलफलमा सहभागी एक नेताका अनुसार सुरुमा नेता नेपालले पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका बारेमा आफूलाई साथ दिने सांसदहरुको धारणा माग गरेका थिए ।
त्यसक्रममा बोल्ने अधिकांश सांसदहरुले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई आफूहरुले विश्वासको मत दिएकाले देउवा सरकार सफल पार्नुपर्ने र त्यसका लागि माधव समूह सरकारमा जानुपर्ने धारणा राखेका थिए ।
त्यसक्रममा कतिपयले पार्टीगत हैसियतमा सरकारमा सहभागी हुन समस्या हुने भए स्वतन्त्र ढंगले समेत सरकारमा जानुपर्ने धारणा सुनाएका थिए ।
जवाफमा नेता नेपालले केही दिन धैर्य गर्न सुझाव दिएका थिए । अधिकांश सांसदहरुले सरकारमा जानुपर्छ भने पनि नेता नेपालले यसबारे अहिले नै निर्णय हुन नसक्ने संकेत गरेका थिए । ‘पार्टी एकताको प्रयास भइरहेको छ, कमसेकम एक साता हेरौं । त्यसपछि निर्णय गर्नुपरे गरौँला’, नेता नेपालको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘यो सरकार हामी सबैको प्रयासले बनेको हो, यसलाई सफल बनाउनु हाम्रो पनि दायित्व पनि हो । तर, पहिलो प्राथमिकता पार्टी एकता हो ।’
नेता नेपालले बुधबारको बैठकमा भने, ‘यदि ओली एकताका लागि तयार छन् भने जेएन कमरेड, वामदेव कमरेड र अष्ट कमरेडलाई दोस्रो अध्यक्ष बनाएर एकता गर्न सकिन्छ ।’
तर, नेता नेपालले आफूले स–सम्मान एकता हुनुपर्ने र त्यसका लागि आगामी महाधिवेशनसम्म ओलीको बराबर अधिकार हुने निश्चितता भएमात्रै वास्तविक एकता ठहरिने र त्यसको अर्थ रहने बताएका थिए ।
नेता नेपालले दोस्रो तहका नेताहरुले एकताको प्रयास गरिरहेको भन्दै त्यो प्रयास सकारात्मक भए पनि उनीहरु ओलीको चास्नीमा फसिसकेकोबारे आफू जानकार रहेको बताएका थिए ।
‘हाम्रा दोस्रो तहका केही नेताहरु लागिरहनुभएको छ । मैले एकसातामा निर्णय चाहिन्छ भनेको छु । उहाँहरुले एक साता भनेको धेरै साता बितिसकेको छ । उहाँहरु पुरानै कुरामात्रै गरिरहनुभएको छ, त्यसबाट पार लाग्ने गरी स–सम्मान एकता हुन सक्दैन’, नेता नेपालको सन्देश थियो ।
छलफलमा कतिपय सांसदहरुले अवको १५ दिनभित्र बहुमत सांसद जुटाएर केपी ओलीलाई संसदीय दलको नेताबाट समेत हटाउन सकिने बताएका थिए ।