काठमाडौं । नेकपाले शुक्रवार स्थायी समिति बैठक दुईपटक तोक्यो । असार २६ गते १ हप्ता बैठक रोक्ने निर्णय गर्दै नयाँ मिति शुक्रवार बिहान ११ बजेका लागि तय भएको थियो ।
तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल चलिरहेको भन्दै स्थायी समिति सदस्यलाई दिउँसो ३ बजे बैठक बस्ने सन्देश पठाइएको थियो ।
अध्यक्ष प्रचण्ड बिहान साढे १० बजेतिर प्रधानमन्त्री ओलीसँग संवादका लागि बालुवाटार पुगेका थिए । २ नेताबीच अपराह्न १ बजेसम्म कुराकानी भयो । त्यसबीच स्थायी समिति सदस्यले अर्को खबर पाए – बैठक साउन ४ गते दिउँसो ३ बजेसम्म स्थगित ।
त्यसो भए अब के त ? घुमिफिरी सचिवालय बैठक । शनिवार सचिवालय बसेर आइतवार मात्रै स्थायी समिति बोलाउनेतिर ओली–प्रचण्ड पुगेको बालुवाटार स्रोतले बतायो ।
स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सहमतिकै प्रयासका लागि सचिवालय बैठक बोलाइएको पुष्टि गरे । ‘उहाँहरू (ओली–प्रचण्ड)बीच फेरि सहमतिको एकपटक प्रयास गरौं अनि स्थायी समिति बैठकलाई पनि कसरी टुंग्याउने भन्ने विषयमा छलफल गर्न सचिवालय बसौं भन्ने भएपछि सचिवालय बैठक बोलाइएको हो,’ नेता पौडेलले भने ।
त्यसो त ओलीले अघिल्लो दिन प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसमक्ष आफूले कुनै पनि पद नछोड्ने, बरु पार्टी स्थायी समिति र केन्द्रीय समिति बैठक ‘फेस’ गर्न तयार रहेको बताएका थिए । ओली शुक्रवार भने विवादित विषय जस्ताको तस्तै केन्द्रीय समितिमा लैजाने विषयमा सहमत देखिएनन् ।
बालुवाटार स्रोतका अनुसार ओलीले प्रचण्डसँग सचिवालयमा मिल्ने विषय सचिवालय, स्थायी समितिमा मिल्ने विषय स्थायी समिति र केन्द्रीय समितिमा लैजाने विषय केन्द्रीय समितिमा लैजाने गरी जानुपर्ने प्रस्ताव गरे । तर विषयलाई स्थायी समितिमा निर्णय नगरी केन्द्रीय समितिमा लैजान नसकिने अडान लिएको स्रोतले जनाएको छ ।
बालुवाटारसँग अर्काे सूचना पनि थियो – प्रचण्ड र नेपाल समूहमा रहेको भनिएका उपाध्यक्ष वामदेव गौतम तत्काल प्रधानमन्त्री हटाउने पक्षमा छैनन् । गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा पनि ४ मंसिर २०७६ कै दुई अध्यक्षको कार्यविभाजनकै व्याख्या गरेर जानुपर्ने पक्षमा छन् । यही सूचनाका आधारमा ओली स्थायी समिति र केन्द्रीय समितिभन्दा पनि एकपटक सचिवालय बैठक बोलाएर छलफल गराउन चाहन्थे ।
प्रचण्डसँग ओलीले भने, ‘अहिले केन्द्रीय समितिभन्दा पनि सचिवालयतिर छलफल गरौं । स्थायी समिति बैठकलाई कसरी समाप्त गर्ने, त्यसको रोडम्याप सचिवालयमा बसेर छलफल गरौं ।’
ओलीको यही प्रस्तावपछि दाहाल स्थायी समिति २ दिनपछि सारेर सचिवालय बोलाउन तयार भएको उच्च स्रोतले जनाएको छ । दुई अध्यक्षले दुई हप्ता लगातार ९ पटकभन्दा बढी छलफल गर्दा पनि नेकपाको किचलो मिलेको छैन । नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामाका विषयमा मिलनबिन्दुको छेउटुप्पो फेला पार्न सकेका थिएनन् । जसकारण दाहाल र नेपाल पक्ष अब पार्टी बैठक रोकेरभन्दा पनि विधि र पद्धतिका आधारमा निर्णय लिनुपर्छ भन्ने निष्कर्षमा पुगेका थिए ।
प्रचण्ड र नेपालले बिहीवार ओलीसँग संयुक्त रूपमा छलफलअघि अबको कार्यनीति के बनाउने भनेर प्रचण्ड निवासमा सचिवालयका ९ मध्ये ६ नेताको बैठक बसालेका थिए । त्यहाँ उपाध्यक्ष गौतमले ओलीलाई हटाउनैपर्छ तर अहिले सहमति खोजेर नहटाउँदा प्रत्युत्पादक हुन्छ भन्ने धारणा राखेका थिए ।
एक–डेढ महिना समय लिएर प्रधानमन्त्रीलाई पद छाड्न बाध्य बनाउनुपर्ने उनको धारणा थियो । गृहमन्त्री समेत रहेका थापाले पनि प्रधानमन्त्रीले मान्दै नमानिरहेको बेला कसरी हटाउने भनेर प्रश्न गरेका थिए । हटाउनै सकिन्न भने अरू कुनै विकल्पमा गर्नुपर्ने प्रस्ताव उनले गरेका थिए । दुई अध्यक्षको कार्यविभाजन गरिएको मंसिर ४ गतेको सहमतिअनुसार कार्यकारी परिभाषित गरेर जानुपर्ने उनको धारणा थियो ।
अन्य नेताले भने अब सहमति नजुटे स्थायी समितिबाट केन्द्रीय समिति बैठक तोकेर जाने, केन्द्रीय समितिले छिनोफानो लगाउनुपर्ने बताएका थिए । उच्च स्रोतका अनुसार खुमलटारको त्यही निष्कर्षका साथ प्रचण्ड र नेपाल बिहीवार दिउँसो प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । तर दुवै पक्ष आआफ्नै अडानमा रहे, कुनै सहमति जुटेन ।
त्यसपछि प्रचण्ड र नेपालले स्थायी समितिबाट केन्द्रीय समिति बोलाउनुपर्ने प्रस्ताव गरे । ओलीले आफू अडानमा दायाँबायाँ नहुने भन्दै स्थायी समिति र केन्द्रीय समिति फेस गरेर जाने बताए । केन्द्रीय समितिमा विवाद लैजाने सहमतिपछि ओली पक्ष बालुवाटार र प्रचण्ड–नेपाल पक्ष खुमलटारमा छलफल बसे । बिहान फरक धारणा राखेका गौतम र थापा भने खुमलटार गएनन् । बालुवाटारमा भने ओली पक्षका नेताले स्थायी समिति बैठकमा टुंगो नलगाई केन्द्रीय समितिमा विवाद लैजान नहुने धारणा राखे ।
संसदीय दलका उपनेता सुवास नेम्बाङलगायत नेताले केन्द्रीय समितिमा सिधै जाने कुरा सही नहुने बताए । सचिवालय, स्थायी समितिमै सकभर विषय मिलाउनुपर्ने मत उनीहरूले राखेका थिए । ‘तत्कालीन एमालेको महाधिवशेनले निर्वाचित गरेर ल्याएको १३५ र माओवादीतर्फका पनि करीब १०० वरिपरि ल्याएर केन्द्रीय समिति बनेको भए फरक कुरा, बहस गरौं । तर प्राविधिक ढंगले केन्द्रीय समिति बनाएर राजनीतिक कुरालाई त्यसरी बहुमत, अल्पमत गरेर जाने कुरालाई मान्न नहुने धेरै नेताको मत थियो,’ ओली पक्षका एक नेताले भने, ‘राजनीतिक विषयमा कुरा परेको छ, संगठनात्मक ढंगले कुरा गरेर मात्र मानिँदैन भन्नेमै छलफल केन्द्रित थियो ।’
गत वैशाख १७ गते सचिवालय बैठकमा पनि नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए । तर ओलीले गौतम र थापालाई साथ लिएर आफ्नो संकट टारेका थिए । अहिले पनि ओली गत वैशाख २० गतेको बैठकमा आफ्नो बहुमत देखाएजस्तै गौतम, थापालाई आफूतिर तान्ने, निर्णय प्रक्रियाबाट बच्ने उपायको खोजीमा लागेको देखिन्छन् ।
पार्टीमा महासचिव विष्णु पौडेलले पनि दुबै पद ओलीले नछोड्ने गरी नै कुनै न कुनै भूमिकामा सहमति जुटाउन प्रयास गरिरहेका छन् । उनले शुक्रवार साँझ उपाध्यक्ष गौतमलाई भेट गरेको एक नेताले बताए । यी छलफल शनिवारको सचिवालयमा नेताहरूबीच सहमतिको प्रयासका लागि भएको बताइएको छ ।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा रामकृष्ण अधिकारीले लेख्नुभएको छ ।