नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच वार्ता गराउन दोस्रो तहका नेताहरुको प्रयास जारी रहेको छ । दुई नेतालाई आजै वार्तामा बसाउने प्रयास भएपनि सम्भव हुन सकेन । शुक्रबार भने दुई नेताबीच वार्तामा बस्ने एक नेताले लिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गरिने बताउँदै आएका छन् । विशेषतः पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको सरकारलाई एमालेको माधव नेपाल पक्षका २२ सांसदले विश्वासको मत दिएपछि उनीहरुलाई स्पष्टीकरण सोधिएकोमा पार्टी मिलाउने उद्देश्यकै साथ हाललाई उनीहरुमाथिको कारबाही थाति राखिएको छ । ‘हाम्रो नीति एकतामै जोड दिने हो, कारबाहीले माहोल थप बिग्रिने भएकाले त्यसतर्फ हामी सचेत छौं’, संस्थापन पक्षीय एक नेताको भनाइ छ ।
एमालेको बिहीबार सम्पन्न बैठकलाई संवोधन गर्दै अध्यक्ष ओलीले पार्टीको एकताको रक्षाका लागि आफ्नो तर्फबाट हरसम्भव कोशिस हुने बताएका थिए ।
पार्टीमा सकारात्मक योगदान गर्ने सबैलाई विगतका गल्तीहरूप्रति उन्मुक्ति दिँदै काम गर्ने वातावरण निर्माण गरिने तर अन्तर्घात र आन्दोलनलाई अन्तरध्वंश गर्ने प्रवृत्ति भने क्षम्य नहुने उनको भनाइ थियो ।
उनले सबै नेताहरुलाई उच्च मनोबलका साथ देश, जनता र आन्दोलनको हितलाई सर्वोपरि राखेर क्रियाशील हुन पनि आह्वान गरेका थिए ।
एमाले अध्यक्ष ओली नेपालप्रति कडा रुपमा प्रस्तुत हुने तथा नेपाल पनि ओलीसँग कुनै हालतमा नमिल्ने बरु आफ्नो बाटो लाग्न तयार हुनेसम्मको अवस्थाले पार्टी गम्भीर मोडमा पुगेको सन्दर्भमा वार्ताको प्रयास भएको हो।
उसो त पार्टी एकतामा माधव नेपाल आउन चाहे आफू दोस्रो अध्यक्ष दिन पनि तयार रहेको ओलीले बताइसकेका छन् ।
यस्तो पृष्ठभूमिमा ओली वार्तामा बस्न निकै सकारात्मक रहेपनि नेपालले भने ओली सहमतिमा आउने आधार खोजेको बताइन्छ । सोही कारण आजै वार्ताको प्रयास भएपनि उनी सहमत नबनेको एमालेका नेताहरु बताउँछन् ।
आज वार्ता हुन लागेको भन्नेबारे एमाले संस्थापन पक्षका नेता सुवास नेम्वाङलाई उदृत गर्दै सञ्चारमाध्यममा खबर प्रकाशित भएपछि नेपालको सचिवालयले खण्डन नै गरेको थियो ।
नेपालको सचिवालयको तर्फबाट मोहन गौतमले सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘ विभिन्न सञ्चार माध्यमहरुमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओलीबीच आज भेट भएको–हुने तय भएको भन्ने समाचारहरू आइरहेकोमा उहाँहरू बीच भेट नभएको र भेट्ने समय तय पनि नभएको कुरा सम्बन्धित सबैमा स्पष्ट पार्दछु ।’
पछिल्लो समय अध्यक्ष ओलीले यसअघि कार्यदलमा रहेका नेताहरुसँग पनि पार्टी एकतामा गम्भीर हुँदै निरन्तर छलफल गरिरहेका छन् । स्रोतका अनुसार, अध्यक्ष ओलीले केही दिन यता दुवै पक्षका दोस्रो तहका नेताहरुसँग निरन्तर संवाद गरिरहेका हुन् ।
स्रोतका अनुसार, एमालेको केन्द्रीय समितिको १० औं बैठक सुरु भएदेखि नै अध्यक्ष ओलीले माधव नेपाल पक्षका नेताहरुसँग पनि निरन्तर संवाद गरिरहेका छन् ।
ओलीको एकतामा चासो दिएसँगै दोस्रो तहका नेताहरुले पनि दौडधूपलाई तीव्रता दिएका हुन् ।