प्रधानमन्त्री ओली फेरी विश्वासको मत लिदै, जोगिएला त कुर्सी ?

तेस्रो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले छिट्टै विश्वासको मत लिने बताएका छन् । वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ठूलो दलको हैसियतमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले छिट्टै विश्वासको मत लिने तयारीमा आफू रहेको उनले बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अल्पमतको सरकार बनाएपछि यो सरकारले विश्वासको मत नलिइ बजेट ल्याउन नमिल्ने विपक्षीले बताउँदै आएका बेला ओलीले भने स्पष्ट रुपमा बजेटबारे के गर्ने भन्नेबारे सार्वजनिक रुपमा बताएका छैनन् । कतिपयले ओलीले अध्यादेशमार्फत बजेट ल्याउन सक्ने समेत बताउँदै आएका छन् ।

संसदमा विश्वासको मत नपाएपछि पदमुक्त भएर फेरि ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओली सरकार एक महिनापछि रहने नरहने निश्चित छैन । यस्तो अवस्थामा बजेट पनि कसरी आउँछ भन्ने टुंगो छैन । उसो त सरकारले बजेट अधिवेशन समेत आह्वान गरेको अवस्था छैन ।

उनले जेष्ठ ६ गते विश्वासको मत लिने बताएका थिए । तर, जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ राजेन्द्र महतोका कारण ओली अलमलमा छन् ।

उनीहरुले विश्वासको मत लिँदा ओलीलाई सघाउने नसघाउने निश्चित भइसकेको छैन । यस्तो पृष्ठभूमिका बीच ओलीले सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा बजेट ल्याउनुभन्दा पहिले आफूले विश्वासको मत लिने ब्रिफिङ गरेका थिए ।

सम्बन्धित
Loading...