अक्सिजन प्लान्ट खरिदको ठेक्का लिएका ठेकेदारले जेनेरेटर ल्याएपछि…

कोरोना महामारीको बेलामा जिल्ला अस्पताल सल्यानले अघि बढाएको अक्सिजन प्लान्ट खरिदमा ठेकेदारले जेनेरेटर खरिद गरेपछि हाङ्गामा भएको छ । उक्त प्रकरणमा अनियमितता भएको आरोप पनि लागेको छ । अस्पतालले अक्सिजन प्लान्ट खरिदको लागि ठेक्का दिएको ठेकेदारले अक्सिजन सिस्टम जेनेरेटर खरिद गरिदिएपछि यो खरिद प्रक्रिया विवादमा परेको हो ।

जिल्ला अस्पतालले २०७७ साल पौष १३ गते पहिलो पटक प्रकाशित सूचना जारी गर्दै अक्सिजन प्लान्ट खरिदको लागि बोलपत्र आह्वान गरेको थियो । अक्सिजन प्लान्ट खरिदको जिम्मा सुर्खेतमा रहेको ड्रागन मेडिटेकले पाएको थियो । तर उसले अक्सिजन प्लान्ट ल्याउने सम्झौता विपरीत आफूखुसी अक्सिजन सिस्टम जेनेटर ल्याएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले बताए ।

निमित्त निर्देशक खड्काका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालय र सल्यान अस्पतालले अक्सिजन प्लान्ट खरिद गर्न सूचना निकालेको थियो । तर, ठेकेदारले आफूखुसी अक्सिजन प्लान्ट नभई अक्सिजन सिस्टम जेनेटर खरिद गर्दा विवादमा आएको बताएका छन् ।
निर्देशनालय र अस्पतालले अक्सिजन प्लान्ट खरिदका लागि आवश्यक सूचना गरेपनि आयातकर्ता ठेकेदारले अर्कै सामग्री पठाएको र त्यो माग अनुसारको सामग्री नभएकाले त्यसलाई नराखिने निमित्त निर्देशक खड्काले बताए ।

उता, आयातकर्ता ड्रागन मेडिटेकका संयोजक गगन शाहीले भने अक्सिजन सिस्टम जेनेरेटरले पनि अक्सिजन कन्सर्नट्रेटर र अक्सिजन प्लान्ट जस्तै अक्सिजन उत्पादन गर्ने भएकाले नयाँ मेसिन खरिद गरिएको बताए ।

सम्बन्धित
Loading...