लागु औषध ओसारपसार गर्ने पत्रकार पक्राउ

कञ्चनपुरमा निषेधाज्ञाका बेला प्रेस लेखेको ज्याकेट लगाएर लागु औषध ओसारपसारमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

शनिबार सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती टोलीले बेल्डाँडी गाउँपालिकाको वैवाहस्थित सीमा क्षेत्रबाट लागु औषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ का २५ वर्षीय नरेश प्रसाद जोशी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र ऐरले जानकारी दिए ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भुडा र झिलमिलासँगै भारतीय एसएसबीसहितको संयुक्त गस्ती टोलीले जोशीलाई पक्राउ गरेको सप्रउ ऐरले बताए ।

उनको साथबाट ७ ग्राम खैरो हिरोइन, एउटा क्यामेरा, दुईवटा मोबाइल, विभिन्न बैँकका पाँच वटा चेक, एउटा एटीएम कार्ड, सुदूरखबर पत्रिकाको परिचय पत्र, प्रेस पास र मोटरसाइकल समेत बरामद गरिएको छ बरामद गरिएका सामानसहित जोशीलाई आवश्यक कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...