शीतल निवासमा राष्ट्रपतिसँग ठाकुर र महतोको गोप्य भेट, के–के भयो कुरा ?

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
बुधबार दिउँसो शीतल निवास पुगेर उनीहरुले राष्ट्रपतिसँग जसपा सरकारमा सहभागि हुने निर्णय नभएको जानकारी गराएका छन् ।
उनीहरूले जसपाको प्रथम अध्यक्ष ठाकुर भएको र निर्वाचन आयोगमा पनि प्रथम अध्यक्षकै हस्ताक्षर चल्ने भन्दै अरुलाई वैधता नदिन आग्रह पनि उनीहरुले गरेका छन् ।

जसपाको उपेन्द्र यादव–बाबुराम पक्ष विपक्षी गठबन्धलाई सहयोग गर्नुपर्ने अडानमा छ । ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिँदा तटस्थ बसेको थियो भने अर्को पक्षले विपक्षमा मतदान गरेको थियो ।

राष्ट्रपति भण्डारीले तीन दिनको समय दिएर संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेकी छिन् । उक्त समय भोलि अबेर ९ बजे सकिँदै छ ।

शीतल निवास जानुअघि ठाकुर र महतोले बालुवाटारमा गएर प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका छन् । छलफलमा विपक्षी गठबन्धनलाई बहुमत पुग्न नदिने रणनीतिबारे छलफल भएको थियो ।

सम्बन्धित
Loading...