प्रधानमन्त्रीको प्रश्न:माननीयज्यू, ‘हुन्न’ भन्ने पक्षमा त कसरी सही गर्न सक्नुहुन्छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन प्रतिनिधि सभाका सदस्यलाई आग्रह गरेका छन् ।

सोमवार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै ओलीले भने, ‘माननीयज्यू, ‘हुन्न’ भन्ने पक्षमा त कसरी सही गर्न सक्नुहुन्छ रु कसरी सक्नुहुन्छ ?’

सरकारले गरेका कामको विवरण सुनाएपछि ओलीले विश्वासको प्रस्तावमा हुन्न भनेर कसरी हस्ताक्षर गर्ने भनेर प्रश्न गरे ।

‘बाहिरबाट आउँदा, अलिक दिन फोन नगर्दा अलिकति असन्तुष्टि थियो कि रु त्यो पनि छाडिदिनुस्, म काममै लागेर नभ्याएको । मेरो कसैप्रति आग्रह पूर्वाग्रह छैन,’ उनले भने, ‘मलाई यही सदनले निर्वाचित गरेको हो । यही सदनको बलले म ३ वर्षभन्दा बढी प्रधानमन्त्रीको हैसियतमा यो रोस्ट्रममा उभिएको छु । यही संसदको बलले म रहन्छु भन्ने पूर्ण विश्वास व्यक्त गर्न चाहन्छु ।’

सरकारका कामकारवाहीबारे बताउँदै ओलीले वर्तमान सरकारले हिजोदेखिका आपराधिक क्रियाकलापको छानबिन गरेर दोषीलाई कारवाही गरिएको बताए ।

‘हिजोदेखिका आपराधिक क्रियाकलापका सन्दर्भमा छानबिन गर्ने र दोषी पाइए कारवाही गर्ने काम वर्तमान सरकारले गरेको छ,’ उनले भने, ‘दोषीको अनुहार हेरेर कारवाही गर्न कि नगर्ने होइन, निष्पक्ष निरुपण गरिसकेपछि अनुहार हेर्ने गरेको छ ।’

अनुचित, अराजनीतिक र गैरकानूनी हिसाबले सरकारले कुनै पनि काम नगरेको ओलीले बताए । ‘त्यसकारण यस सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारणै छैन,’ उनले भने ।

ओलीले वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने सरकार हुँदै नभएको बताए । ओलीले भने, ‘वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने सरकार हुँदै होइन ।’

राष्ट्रियताको सवालमा अडान लिएर सरकारले राष्ट्रिय स्वाभिमान माथि उठाउने काम गरेको उनले बताए । ‘राष्ट्रियताको सवालमा मैले धेरै भनिराख्नुपर्दैन । राष्ट्रिय हितको रक्षा र सम्बद्र्धनको प्रश्नमा, भौगोलिक अखण्डताको पहरेदारी गर्ने सन्दर्भमा, राष्ट्रिय स्वाभिमान माथि उठाउने सन्दर्भमा वर्तमान सरकारले कुनै कसर बाँकी नराखेको कुरा तर्कभन्दा माथि छ, तस्वीर आफैं बोल्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले सुशासन र विकासको सन्दर्भमा समेत सरकारले काम गरेको बताए । ‘मैले धेरै भनिराख्नु पर्दैन । हाम्रा कामहरू आफैं बोल्छन् । तसर्थ विश्वास नगर्नुपर्ने कुनै कारणै छैन,’ उनले भने ।

उनले कोभिड विरुद्धको औषधि खरिदमा भ्रष्टाचार भएको नाममा अनुचित ‘कनेक्सन’ देखाइएको बताए । प्रधानमन्त्री निकटका व्यवसायीले कमिसन खान खोज्दा खोप ल्याउन ढिलाइ भएको प्रचारबाजी भइरहेका बेला ओलीले स्पष्ट पारेका छन् ।

बैठकलाई सम्बोधन गर्दै ओलीले कोरोना महामारीको बेला भ्रष्टाचार र अपराध गर्ने कार्य क्षम्य नहुने बताए । ‘कोभिडविरुद्ध औषधि खरिदमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने, नभएको कनेक्सन अनुचित ढंगले देखाउने काम भएको छ,’ ओलीले भने, ‘हामीलाई थाहा छ, दुनियाँमा भ्याक्सिनको अभाव छ । दक्षिण एसियामा भारतपछि भ्याक्सिनको प्रयोग गर्ने हाम्रो देश हो । एउटा पनि पीसीआर नभएको ठाउँमा ८६ स्थानमा पीसीआर हुँदैछ ।’

उनले सरकारले कोभिड नियन्त्रणका लागि काम गरिरहेको बताए ।

सम्बन्धित
Loading...