राष्ट्रिय सभा उपनिर्वाचन उम्मेदवारी आज

काठमाडौँः वाग्मती प्रदेशमा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयनको कार्यसूची रहेको छ ।

प्रदेश राजधानी हेटौंडामा खोलिएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ ।

वाग्मती प्रदेशबाट निर्वाचित भएकामध्ये रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको पद रिक्त भएको हो । माओवादी केन्द्रबाट निर्वाचित भएका थापा एमालेमा प्रवेश गरेपछि उनलाई माओवादीले कारबाही गरेको थियो । मतदान ६ गते हुनेछ ।

राष्ट्रिय सभा निर्वाचनमा वाग्मती प्रदेशको प्रदेशसभाका १ सय १० सदस्य तथा प्रदेशभित्रका नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेत २३८ गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन् ।

विपक्षी दल कांग्रेस, माओवादी, एमालेकै माधव नेपाल–झलनाथ खनाल समूहले संघीयताका जानकार खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, सत्तारुढ दल एमाले रामबहादुर थापालाई उम्मेदवार बनाउने तयारीमा छ ।

सम्बन्धित
Loading...