तेस्रो कार्यकालका लागि पश्चिम बंगालकी मुख्यमन्त्री बन्ने भइन् बेनर्जी

भारतीय राज्य पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्ने भएकी छन्। विधान सभाको चुनावमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी तृणमूल कंग्रेसकी प्रमुख बेनर्जीले बुधबार कोलकतास्थित राजभवनमा सपथ लिन लागेकी हुन्।

कोरोनाभाइरस महामारीका कारण उनको सपथमा एकदमै थोरै मानिसमात्र सहभागी हुनेछन्।

गत मार्च र अप्रिलमा भएको विधान सभा चुनावमा पार्टीलाई भव्य रूपमा जिताए पनि बेनर्जी आफू भने पराजित भएकी थिइन्।

नन्दीग्राम चुनाव क्षेत्रमा उनी तृणमूल कंग्रेस छोडेर गएका उनको क्याबिनेटका पूर्वमन्त्री शुभेन्दु अधिकारीसँग पराजित भएकी थिइन्।

चुनाव हारे पनि बेनर्जीलाई भारतीय संविधानले तेस्रो कार्यकालका लागि मुख्यमन्त्री रोकेको थिएन।

भारतीय संविधानको धारा १६४ ९४० ले सांसद नभएको व्यक्तिले पनि ६ महिनाका लागि मन्त्रीको सपथ लिन सक्ने व्यवस्था गरेको छ।

बेनर्जीले उक्त धाराअनुसार मुख्यमन्त्रीको सपथ लिने र छ महिनाभित्र कुनै क्षेत्रमा उपनिर्वाचन गराएर जितेर आउने सम्भावना छ।

पश्चिम बंगालमा पार्टीलाई दुई तिहाइ बढी बहुमत दिलाएकी बेनर्जीले यसरी मुख्यमन्त्री बन्नु संवैधानिक, राजनीतिक र नैतिक रूपले पनि स्वीकार्य हुने विश्लेषकहरूले बताएका छन्। एजेन्सी

सम्बन्धित
Loading...