काठमाडौं । कोरोना भाइरस संक्रमणसँगै जन्मिएको जुम माध्यमबाट सञ्चालित पतंजलि योग समिति नेपालको अनलाइन ‘योग चौतारी’को बिहानी सत्र २०० औं अंक पूरा गरेको अवसरमा आईतबार विशेष कार्यक्रम हुँदैछ ।
हरेक दिन बिहान र साँझ २ घण्टा जुममार्फत सञ्चालन हुने कार्यक्रममध्ये बिहानी सत्रको कार्यक्रम भोलि आईतबार २०० औं अंक पुग्दैछ । साँझको सत्र भने १२ औं दिनपछि २०० औं अंक पुग्नेछ ।
नियमित अनलाइन योग चौतारीले २०० दिन पार गरेको अवसरमा भोलि आईतबार बिहान पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाललाई प्रमुख अतिथि बोलाएर विशेष कार्यक्रम गर्न लागिएको योग चौतारी अनलाइन मञ्चका संयोजक लवराज भट्टले जानकारी दिनुभयो । ‘साँझको सत्र पनि २०० दिन पुग्दासम्म १२ दिनको योग चौतारीलाई विशेष बनाउने निर्णय भएको छ,’ संयोजक भट्टले भन्नुभयो, ‘हरेक दिन बिहान र साँझ छुट्टाछुट्टै प्रमुख अतिथि निम्त्याएर १२ दिनसम्म २४ प्रमुख अतिथिले कार्यक्रममा सहभागिता जनाउने छन् ।’
योग चौतारी कार्यक्रम बिहान ५–७ बजे र साँझ ७–९ बजेसम्म सञ्चालन हुँदै आएको छ । १२ दिनका २४ सत्रलाई विशेष बनाउन देउसीभैलो, हालसम्मका अनुभव आदान–प्रदान लगायत कार्यक्रम गरिने संयोजक भट्टले बताउनुभयो ।
कोरोना महामारीसँगै सरकारले गरेको लकडाउनका कारण योग साधना केन्द्रसम्म जान नसकिने अवस्थाका बेला योग साधनलाई निरन्तरता दिन अनलाइन माध्यमबाट योगाभ्यास सुरू गरिएको थियो । योग चौतारीका हालसम्मका अंकहरूमा योगाभ्यास सँगसँगै आध्यात्मिक जीवनशैली, खानपान, स्वास्थ्य, सांस्कृतिक सम्पदाका विषयमा चर्चा भएको संयोजक भट्टले बताउनुभयो ।
‘योग केन्द्रमा भेला हुने अवस्था नभएपछि अनलाइनबाट अभ्यास गर्न थालिएको थियो । योग चौतारीले २०० दिन पूरा गर्दैछ, सायद विश्वभरमै योग सम्बन्धित कार्यक्रम यसरी नियमित रूपमा २–२ घण्टा २०० दिनसम्म सञ्चालन भएको छैन होला,’ संयोजक भट्टले भन्नुभयो, ‘पतंजलि योग समितिले महामारीको बेला वैकल्पिक माध्यमलाई प्रयोग गरेर देशविदेशमा रहेका नेपालीलाई योग साधना र शिक्षामा जोडेको छ ।’
तिहारलक्षित अन्तर्राष्ट्रिय देउसीभैलो प्रतियोगिता
कोरोनाकै कारण घरघरमा डुलेर देउसीभैलो खेल्न सम्भव नभएकाले पतंजलि योगपीठले अनलाइन माध्यमबाटै अन्तर्राष्ट्रिय देउसीभैलो प्रतियोगिता आयोजना गरेको छ । पतंजलि योगपीठ अन्तर्गत आचार्य बालकृष्णजीको अध्यक्षतामा रहेको ‘हाम्रो स्वाभिमान’ले देउसीभैलो आयोजना गरेको संयोजक भट्टले बताउनुभयो ।
‘हाम्रो स्वाभिमानले विश्वभर छरिरहेका रहेका नेपाली भाषीहरूको हकहित र संस्कृतिको संरक्षणका लागि काम गर्छ,’ उहाँले भन्नुभयो, ‘पतंजलि योग समिति नेपालसँग मिलेर भइरहेको कार्यक्रम आस्था टेलिभिजन र सामाजिक सञ्जालबाट प्रसारण हुनेछ ।’
प्रतियोगितामा सहभागी हुन कम्तिमा ५ जनाको टोलीले देउसीभैलो भिडियो बनाएर आयोजकलाई पठाउनुपर्ने र भिडियो छनोट भएपछि अन्तिम प्रतिस्पर्धामा सहभागी गराइने मापदण्ड रहेको भट्टले बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कारको समेत व्यवस्था गरिएको जनाइएको छ ।