काठमाडौं । कैलाली जिल्लाको धनगढीमा भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–१२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले २०७५ फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई भारतीय नागरिकको नक्कली बुवा बनाएर जोशीले सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको बताउनुभयो ।
डीएसपी विष्टका अनुसार चौधरीले नक्कली बुवा बनेर भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस बनाउनुभएको थियो । अन्सारी टीकापुर नगरपालिका–७ मा बस्दै आउनुभएको छ ।
नक्कली बुवा बन्ने चौधरी फरार हुनुहुन्छ भने उहाँका दाजु खुसीराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । वडाध्यक्ष जोशीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।