काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद भइरहेका बेला नेकपा ललितपुरका जिल्ला सचिवालय सदस्य गणेश केसी कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
नेकपामा असन्तुष्टि बढिरहेका बेला बिहीबार कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको निवास महाराजगञ्जमा आयोजित कार्यक्रममा केसी कांग्रेसमा प्रवेश गरेका कांग्रेसको खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले जानकारी दिनुभयो ।
नेता केसी कांग्रेसमा प्रवेश गरेसँगै दक्षिण ललितपुरमा कांगेसको उपस्थिति दरिलो हुने महर्जनले बताउनुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, जिल्ला सभापति मदनबहादुर अमात्य, खेलकुद विभाग केन्द्रीय सचिव मीनकृष्ण महर्जन, निर्वाचन क्षेत्र १(१) प्रदेश सभापति सुन्दरमान थिङ, आमन्त्रित जिल्ला सदस्य ऋषिदेव फुयाल, बागमती गाउँपालिका प्रवक्ता विष्णुप्रसाद तिमल्सिना लगायतका नेता उपस्थिति रहनुभएको थियो ।
तत्कालीन माओवादी केन्द्रमा उहाँ केन्द्रीय आयोजक समिति सदस्यमा मनोनित हुनुभएको थियो । हाल केसी महांकाल गाउँपालिकाको नेकपाको इन्चार्ज हुनुहुन्थ्यो ।