महाधिवेशनको तयारी गर्न कात्तिक २१ गते कांग्रेसको बैठक, कम्युनिस्टलाई कोरोना बहाना

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न कात्तिक २१ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी महाधिवेशन तयारी सम्बन्धमा छलफलका लागि बैठक बोलाइएको जानकारी दिनुभयो ।

यसअघि असोज १८ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएकोमा केही केन्द्रीय सदस्यमा कोरोना संक्रमण देखिएपछि बैठक सरेको थियो । कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भने कोरोना भाइरस संक्रमणको महामारीलाई बहाना बनाएर केन्द्रीय कमिटी बैठक १ महिना पर सारेको छ । कात्तिक १५ गतेका लागि तोकिएको बैठक मंसिर १५ गतेसम्मका लागि सारिएको नेकपाले जनाएको छ । नेकपाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद चर्किएपछि पार्टीका बैठक प्रभावित हुँदै आएका छन् ।

सम्बन्धित
Loading...