काठमाडौं । भारतको गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमै पुगेर भेटघाट गरेपछि नागरिक अगुवाहरू एकजुट भएका छन् ।
विभिन्न क्षेत्रमा सक्रिय २३ जना नागरिक अगुवाले गोयल–ओलीबीच भएको भेटवार्तालाई रहस्यमयी भन्दै सरकारमाथि गम्भीर प्रश्न गरेका छन् ।
नागरिक अगुवाहरूले ‘रअ’ प्रमुखको भ्रमणको एजेण्डा के थियो, कसले आमन्त्रण गरेको थियो वा कुनै आमन्त्रण विनाको आगमन हो, प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरिएको हो भने सारभूत वार्ता को–कोसँग र कुन–कुन विषयमा छलफल गरियो, प्रचलित कूटनीतिक कार्यविधि अनुसारको कूटनैतिक पदाधिकारीसँग भेट गर्न किन उपयुक्त ठानिएन र गुप्तचर निकायसँग नेपालले एकदमै अपर्झट कुरा गर्नुपर्ने विषय के थियो भन्ने प्रश्न गरेका छन् ।
‘सुसूचित हुन पाउने संवैधानिक अधिकार प्राप्त सार्वभौम नेपाली नागरिकले नेपाल सरकारबाट माथिका प्रश्नको इमान्दार र स्पष्ट जवाफ तत्काल खोजेका छन् । लोकतान्त्रिक सरकारले जनउत्तरदायित्वको यो न्युनतम दायित्व निर्वाह गरोस् भन्ने हाम्रो आग्रह छ,’ सार्वजनिक अपिलमा उल्लेख छ, ‘नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानमा बारम्बार ठाडो हस्तक्षेप आमन्त्रण गर्ने र वैदेशिक दासता स्वीकार्ने नेपालको राजनीतिक प्रवृत्ति प्रति हामी गम्भीर आपत्ति प्रकट गर्न चाहन्छौं । राजनीतिको यो घातक प्रवृत्तिको विरोध गर्न र हाम्रो राष्ट्रिय अस्मितामा आँच पुर्याउने जुनसुकै विदेशी मुलुकका गतिविधिका विरूद्धमा निरन्तर खबरदारी गर्न समाजका हरेक तप्का र आम जनसमुदायमा हामी अपील गर्दछौं ।’
यस्तो छ अपिलको पूर्णपाठ –