काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटक–पटक विवाद चर्किने गर्छ । पछिल्लो पटक स्थायी कमिटी बैठकमा प्रचण्ड लगायत नेताहरूले ओलीको राजीनामा मागेपछि विवाद चर्किएको थियो ।
त्यो विवाद महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा केही मत्थर भए पनि नेकपामा फेरि विवाद उत्कर्षमा पुगेर छताछुल्ल भएको छ । प्रधानमन्त्री ओलीले एकलौटी रूपमा मन्त्रिपरिषद् पुनर्गठन गरेपछि असन्तुष्ट भएका प्रचण्ड कर्णाली नेकपाभित्र देखिएको विवादसँगै बिस्फोट हुनुभएको छ ।
कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रदेशसभा दलको नेताबाट हटाउन ओली पक्षीय नेता यामलाल कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएपछि विवाद सतहमा आयो । त्यो प्रस्तावलाई आज शुक्रबार बसेको प्रदेशसभा दलको बैठकले फेल गरेको छ । तर विवाद समाधान भइसकेको छैन । बरु विवादको केन्द्रमा अध्यक्षद्वय ओली र प्रचण्ड देखिनुभएको छ ।
एउटा पार्टीमा एउटा विषयमा एउटा निर्देशन जारी हुनुपर्छ । तर केन्द्र पार्टीमा विवाद बढ्दै गएर कर्णालीको विषयमा ओली र प्रचण्डबाट छुट्टाछुट्टै लिखित निर्देशन जारी भएका छन्, यी निर्देशनले नेकपा फुट उन्मुख रहेको स्पष्ट लिखित संकेत दिएका छन् ।
प्रधानमन्त्री ओलीले कात्तिक ५ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सम्बोधन गर्दै पत्राचार गर्नुभएको छ, जसमा प्रमुख सचेतकको जिम्मेवारी सम्हालिरहनुभएका गुलाबजंग शाहमाथि गरेको कारवाही फिर्ता लिन र पूर्ववत् प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशन दिइएको छ ।
यस्तो छ लिखित निर्देशन –
ओलीले लिखित निर्देशन दिएको पत्र शुक्रबार सार्वजनिक भएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा कर्णालीका इन्चार्जलाई पत्राचार गर्दै अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी विषय प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्ने निर्देशन दिनुभएको छ । प्रचण्डको निर्देशनमा लेखिएको छ, ‘हाम्रो दलको प्रदेशसभा सदस्यहरूको भावना र मर्म अनुसार कार्यान्वयन गर्न निर्देशन गर्दछु ।’
यस्तो छ प्रचण्डको निर्देशन –
एकै पार्टीका २ अध्यक्षले एकै विषयमा विरोधाभासपूर्ण छुट्टाछुट्टै निर्देशन जारी गरेपछि नेकपाका नेता कार्यकर्ता रनभूल्ल परेका छन् । कर्णाली प्रदेशमा देखिएको विवाद अझै समाधान हुन सकेको छैन । ओली–प्रचण्डबीचको पुरानै विवादमा कर्णाली विवाद थपिएपछि झन् बल्झिएको छ ।
यसअघि ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले यस्तै विवादास्पद प्रेस नोट जारी गर्दै द्विविधा सिर्जना गर्नुभएको थियो ।