केपी ओलीको पोल खुलेपछि भीम रावलले दिए दनक !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधि कूटनीतिक मर्यादा विपरीत भएको भन्दै नेकपाकै नेता भीम रावलले दनक दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेको खुलासा भएपछि नेता रावलले आपत्ति जनाउनुभएको हो ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै रावलले भन्नुभएको छ, ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ । कूटनीतिक मर्यादा विपरीत छ ।’

यसरी भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले राजधानी काठमाडौं आएर चलखेल गरेको आशंकाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र खैलाबैला मच्चिएको छ । राष्ट्रवादी छवि देखाउने गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले रअ प्रमुखलाई काठमाडौं बोलाएर सुटुक्क भेटेको रहस्य खुलासा भएपछि बालुवाटारको पोल खुलेको छ ।

रअ प्रमुख सामन्तको भ्रमणले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तनाव दिएको छ । रअ प्रमुखको भ्रमणलाई जोडेर भ्रामक समाचार आएको भन्दै प्रचण्डको सचिवालयले स्पष्ट पारेको छ । प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले रअ प्रमुखसँग कुनै भेटघाट नभएको जनाउनुभएको छ । सापकोटाले संवेदनशील विषयमा झूट, कपोकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

भारतीय गुप्तचर संस्थाका प्रमुख गोयल बुधवार काठमाडौं आउनुभएको थियो । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले समेत रअ प्रमुखसँग भेट गरेको भन्ने समाचार भ्रामक भएको जनाउनुभएको छ ।

बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै नेपालले रअ प्रमुखसँग भेट भएको भन्ने समाचार झूट, कपोकल्पित र भ्रामक भएको बताउनुभयो । ‘पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपाल र रअ प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चारमाध्यममा झूट, कपोकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ,’ नेपालले ट्वीटरमा लेख्नुभएको छ । यसरी सामन्तको भ्रमणसँगै नेकपाका नेताहरूलाई स्पष्टीकरण दिन हम्मेहम्मे परेको छ ।

रअ प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पोल खुलेपछि प्रधानमन्त्रीको सचिवालयले समेत प्रेस नोट जारी गरेको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

‘भेटका क्रममा उहाँले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नुभयो,’ थापाले बिहीबार प्रेस नोट जारी गर्दै भन्नुभयो ।

बुधबार नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयल बिहीबार स्वदेश फर्किनुभएको छ । झण्डै २१ घण्टा नेपालमा बिताएर भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल बिहीबार स्वदेश फर्किनुभएको हो । बुधबार दिउँसो भारतीय सेनाको विशेष विमानमार्फत काठमाडौं उत्रिएका गोलय बिहीबार बिहान सवा १० बजे दिल्ली फर्किनुभएको छ ।

कालापानी सीमा विवादलाई लिएर नेपाल र भारतबीच सम्बन्ध चिसिएको बेला भारतीय गुप्तचर प्रमुखको नेपाल भ्रमणलाई निकै चासोका चर्चा भइरहेको छ । प्रधानमन्त्री ओलीले गोप्य भ्रमणलाई लुकाउन खोजेपनि पोल खुलेपछि सचिवालयले ढिला गरी भेटवार्ताबारे पुष्टि गरेको छ ।

सम्बन्धित
Loading...