काठमाडौं । शौचालय जाने क्रममा चिप्लिएर अर्जुनखोलामा खसेका नेपाली सेनाका लेस नायकको दाङ जिल्लामा मृत्यु भएको छ ।
दाङको रणसिंह दल गण घोराहीमा दरबन्दी भई हाल अर्जुनखोलाको सैनिक पोष्टमा कार्यरत ३० वर्षीय शीतल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशील थापा मगरले बताए ।
लमजुङको मध्यनेपाल नगरपालिका–९ निवासी थापा दिउँसो साढे १२ बजे शौचालय जाने क्रममा करीब २०० मिटर तल अर्जुन खोलामा खसेका प्रहरी निरीक्षक थापा मगरले बताए ।
सैनिक पोस्ट नजिकै रहेको कच्ची शौचालय जाने क्रममा शीतल थापा खसेको अनुमान प्रहरीले गरेको छ । थापालाई लमही अस्पतालमा मृत घोषणा गरिएको छ ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।