बालुवाटारमा ओली–प्रचण्डको घमासान विवाद, सल्लाहकारहरूले गरे छताछुल्ल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टीमा रहेको विवाद छताछुल्ल भएको छ ।

आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्षबीच छलफल भएको थियो । जसमा कर्णाली प्रदेश नेकपाभित्र देखिएको विवाद समाधानका लागि सहमति भएको भनिएपनि विवाद झन् बल्झिएको विषय छताछुल्ल भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले साँझ प्रेस नोट जारी गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका प्रमुख सचेतक नियुक्तिका निर्णय बदर गर्ने सहमति भएको जानकारी दिनुभयो । ‘१) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने । २) प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने,’ प्रेस नोटमा उल्लेख छ ।

यस्तो छ थापाको प्रेस नोट –

सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहानको भेटघाटमा भएको सहमति निम्नानुसार रहेको जानकारी गराउन चाहन्छु –
१) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।
२) प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।
३) मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र
४) अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।
यस बारेमा आजका कतिपय सञ्चारमाध्यममा आएकोजस्तो गरी छलफल र सहमति नभएको सबैको जानकारीका लागि अनुरोध गर्दछु ।
सूर्य थापा
प्रेस सल्लाहकार
४ कात्तिक २०७७

थापाको प्रेस नोट सार्वजनिक भएको केहीबेरमै अध्यक्ष प्रचण्डका प्रेस संयोजक बिष्णुप्रसाद सापकोटा ‘जुगल’ले समेत प्रेस नोट जारी गर्दै मुख्यमन्त्रीका निर्णय बदर गर्नेबारे कुनै सहमति नभएको जनाउनुभएको छ । यसरी दुवै अध्यक्षबीच पार्टीमा रहेको विवाद छताछुल्ल भएको छ ।

यस्तो छ सापकोटाको प्रेस नोट –

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो ।
उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।
बिष्णुप्रसाद सापकोटा ‘जुगल’
प्रेस संयोजक
अध्यक्ष प्रचण्डका निजी सचिवालय

दुवै अध्यक्षका सचिवालयबाट जारी भएका छुट्टाछुट्टै विज्ञप्तिमा भ्रममा नपर्न आग्रह गरिएको छ । तर दुवै अध्यक्षका सचिवालयबाट विज्ञप्तिहरू भ्रम पार्ने खालले आएका छन् । प्रधानमन्त्री ओलीले केही दिनअघि एकलौटी रूपमा मन्त्रिपरिषद् पुनर्गठन गरेदेखि प्रचण्ड असन्तुष्ट रहेका छन् ।

सम्बन्धित
Loading...