काठमाडौं । कोरोना भाइरस संक्रमित जनताले आफ्नो उपचार आफ्नै खर्चमा गर्नुपर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्णय गरेपछि सर्वत्र आलोचना भइरहेको छ ।
केही लक्षित वर्गबाहेक सबै जनताले आफ्नो उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सरकारले गरेको छ । यसै सन्दर्भमा नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले सरकारमाथि गम्भीर प्रश्न गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘नागरिकको अपेक्षा सरकारप्रति हुन्छ तर यहाँ सरकार नै दायित्वबाट विमुख भएको छ । जनता कहिल्यै सरकारको प्राथमिकतामा परेनन् । भोकले कोही मर्दैन, उपचार नभएर कोही मर्दैन भन्ने जनताको सरकार कहाँ छ ? रोग र भोकले जनता मरिरहँदा सरकार यतिविघ्न संवेदनाशून्य कसरी बन्नसक्छ ?’
नागरिकको अपेक्षा सरकारप्रति हुन्छ तर यहाँ सरकार नै दायित्वबाट विमुख भएको छ । जनता कहिल्यै सरकारको प्राथमिकतामा परेनन् ।…
Posted by Pradip Paudel on Monday, October 19, 2020
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस विज्ञप्ति नै जारी गरेर कोरोना संक्रमितको उपचार गर्नबाट पन्छिएसँगै ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफैं उद्दत रहेको आरोप लगाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संक्रामक रोग उपचारको कानूनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउनुभयो ।
विज्ञप्तिमा उल्लेख छ, ‘कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको हो । संक्रामक रोग उपचारको कानूनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन । सर्वोच्च अदालतले केही अघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ ।’

कोरोना भाइरसको महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेकोे वर्तमान सरकारले परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णय अत्यन्तै गैरजिम्मेवार व्यवहार भएको कांग्रेसको आरोप रहेको छ ।
कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरू तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभिरको कालोबजारी, अव्यवस्थित क्वारेन्टाइन र शव व्यवस्थापनसम्म लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
नेकपाकै सांसदहरू भीम रावल लगायतले समेत सरकारको गैरजिम्मेवार निर्णयको विरोध गरिरहेका छन् ।