काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारको निर्णय बमोजिम सबै सांसदलाई दशैंभत्ता दिएपछि बढेको आलोचनाबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सबै सांसदको दशैंभत्ता सरकारलाई नै फिर्ता गर्ने निर्णय गरेको छ ।
अधिकांश सांसदहरू राजधानी बाहिर रहेकाले संसदीय दलको औपचारिक बैठक गर्न सम्भव नभएपछि दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको तर्फबाट निर्णय लिँदै सबै सांसदको खातामा आएको दशैंभत्ता फिर्ता गर्न निर्देशन दिनुभएको छ ।
‘यस्तो बेला औपचारिक बैठक गर्न सम्भव छैन, पार्टीले सबै सांसदको दशैंभत्ता सरकारलाई नै फिर्ता गर्ने निर्णय गरिसकेको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने । पार्टी निर्णयपछि कांग्रेस संसदीय दलले दशैैंभत्ता फिर्ताका लागि संघीय संसद् सचिवालयलाई पत्राचार गर्ने तयारी गरेको छ ।
नेपाली कांग्रेसले दशैं भत्ताबापत आफ्ना सांसदको खातामा आएको ४३ लाख २० हजार ८१० रुपैयाँ कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका मुख्य सचेकत बालकृष्ण खाणले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गरी दशैं भत्ता कोरोना उपचार कोषमा राख्ने निर्णय भएको जानकारी दिनुभयो ।
यसअघि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण, युवा नेता गगन थापा लगायतले भत्ता फिर्ता गर्ने जानकारी दिनुभएको थियो । कांग्रेसले सबै सांसदको भत्ता फिर्ता गर्ने निर्णय गरिसक्दा समेत सत्तारुढ नेकपाले भने निर्णय लिन सकेको छैन । नेकपाका कतिपय सांसदले व्यक्तिगत रूपमा भत्ता फिर्ता गर्ने जानकारी गराएपनि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भत्ता फिर्ताबारे केही बोलेका छैनन् । नेकपा पार्टी हेरेको हेर्यै भएको छ ।