काठमाडौं । भगवान् श्रीकृष्णले आफ्नो जीवनकालमा १६ हजार १०८ कन्यासँग बिहे गरेको शास्त्रीय प्रसङ्गका आधारमा कतिपयले उहाँलाई ‘स्त्रीलम्पट’को रूपमा अपव्याख्या गर्ने गर्छन् ।
धर्म, संस्कृति र परम्परालाई गलत देखाउन खोज्ने, आंशिक तथ्यलाई देखाएर मनोगत व्याख्या गर्ने र भ्रम फैलाउने दुष्प्रयासहरू भइरहेको अवस्थामा पनि श्रीकृष्णको बिहेको वास्तविक प्रसङ्ग र व्याख्याबारे कृष्णभक्तहरूमा कौतुहलता रहन्छ ।
धर्मशास्त्रको अध्ययनभन्दा सांसारिक दौडधुपमा व्यस्त रहने आस्तिक व्यक्तिहरू समेत कृष्णका कतिपय प्रसंगले भ्रमित हुने गर्छन् । तर शास्त्रीय अध्ययन गर्नुभएका त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान तथा दर्शनशास्त्र विभागका प्राध्यापक डा. गोविन्दशरण उपाध्याय भगवान् श्रीकृष्णले एकैपटक १६ हजार १०० कन्यालाई बिहे गरेर शरणमा लिनुलाई क्रान्तिकारी कदम मान्नुहुन्छ ।
‘द्वापर युगमा प्रागज्योतिश्य शहरमा भौमासुर दानव थिए । १६ हजार १०८ कन्यासँग बिहे गरेमा अमरत्व प्राप्त हुने विश्वासमा ती दानवले १६ हजार १०० कन्याहरूलाई बन्दी बनाएर राखेका थिए । आवश्यक संख्या नपुगेकाले बिहे भने गरिसकेका थिएनन् । थप कन्या अपहरण गरी ल्याएर आवश्यक संख्या पुर्याउने तयारी थियो,’ डा. उपाध्यायले भन्नुभयो ।
दानवले कन्याहरूलाई बन्दी बनाएको खबर द्वारिकामा रहेका श्रीकृष्णलाई पुगेको र त्यसपछि कन्याहरूको उद्धार गर्ने योजना बनेको डा. उपाध्यायले बताउनुभयो । शास्त्रहरूका उल्लेख भएको घटनाक्रम अनुसार श्रीकृष्ण र पत्नी सत्यभामाबीच पारिजात फूल ल्याउन स्वर्ग जाने क्रममा बन्दी बनाइएका कन्याहरूको पनि उद्धार गर्नुपर्ने सल्लाह भयो । ‘श्रीकृष्णले बन्दीगृहमा आक्रमण गर्नुभयो । दानवसँगको लडाइँपछि बन्दी बनाइएका कन्याहरूलाई उद्धार गर्न उहाँ सफल हुनुभयो,’ शास्त्रीय प्रसंग बनाउनुहुँदै डा. उपाध्यायले भन्नुभयो ।
कन्याहरूको उद्धारपछि अर्काे ठूलो आपत् आइलाग्यो । बन्दी गृहबाट मुक्त भइसकेपछि पनि १६ हजार १०० कन्याहरूले गम्भीर चिन्ता व्यक्त गरे । ‘त्यतिबेलाको समाज अनुसार दानवले बन्दी बनाएका कन्याहरू पुनः घरपरिवारमा फर्किने र समाजले स्वीकार्ने अवस्था थिएन । अब कहाँ जाने, सडकमै अलपत्र परिने भयो भन्ने चिन्ता कन्याहरूले श्रीकृष्णसामु राखे,’ डा. उपाध्यायले भन्नुभयो, ‘कन्याहरूले श्रीकृष्णले नै शरण दिनुपर्ने विकल्प नभएको आशय समेत व्यक्त गरे । श्रीकृष्ण पत्नी सत्यभामाले कन्याहरूको पुकार सुन्न आग्रह गर्नुभयो । त्यसपछि कृष्णले सबै कन्याहरूलाई शरण लिनुभयो ।’
श्रीकृष्णले आफ्नो यौनइच्छा पूरा गर्न नभई सडकमा अलपत्र पर्ने अवस्थामा पुगेका कन्याहरूलाई सामाजिक जीवन दिन शरण दिनुभएको डा. उपाध्याय बताउनुहुन्छ । ‘त्यतिबेलाको समाजमा महिलालाई ल्याएर बन्दी बनाएर राखेपछि समाजमा कसैले स्वीकार गर्ने सम्भावना नै थिएन । त्यस्तो अवस्थामा कृष्णले स्वीकार गर्नु क्रान्तिकारी कदम थियो,’ उहाँले भन्नुभयो, ‘बन्दीगृहबाट छुटेपछि कन्याहरूले अब आत्महत्या गर्नुको विकल्प छैन भनेर गुनासो गरेपछि कृष्णले बाध्य भएर पत्नी सत्यभामाको सहमतिमा शरण दिनुभएको हो ।’
श्रीकृष्णको जीवन बाल्यकालदेखि नै अन्याय र अत्याचारविरुद्ध उपयोग भएको पाइन्छ । पुतना र कालिया नागको बध, कंस लगायत राक्षसलाई मार्नु श्रीकृष्ण अन्यायविरुद्ध रहेका प्रमाण हुन् । उहाँले राम्रा र मिलनसारहरूसँग रमाउने र गलत गर्नेलाई नष्ट गर्ने कार्य गर्नुभयो । ‘बन्दीगृहबाट उद्धार गरेका कन्याहरू सडकमा अलपत्र हुने अवस्था आएपछि तत्कालीन परिस्थिति बुझेर उहाँले शरण दिनुभएको हो,’ उहाँले भन्नुभयो ।
राधाकृष्णबीचको प्रेमलाई बाल्यकालको प्रेमको रुपमा व्याख्या गर्नुहुन्छ डा. उपाध्याय । ‘कतिपयले श्रीकृष्णलाई यौन आकर्षणको प्रेम गरेको रूपमा बुझ्छन्, तर वास्तवमा त्यस्तो थिएन । श्रीकृष्णले ११ वर्षको उमेरमा गोकुल छाड्दासम्म राधासँग कस्तो खालको प्रेम भयो होला ? ११ वर्षमुनिको बच्चाले कस्तो प्रेम गर्छ ?’ उहाँले भन्नुभयो, ‘त्यो यौन आकर्षण विनाको प्रेम हो । हामीले इतिहासका घटनाक्रमलाई प्रसंग अनुसार व्याख्या गर्नुपर्छ, अर्थ लगाउनुपर्छ । अपव्याख्या गर्नु हुँदैन ।’
‘अनुकरण होइन, अनुशरण गरौं’
डा. उपाध्याय हामीले श्रीकृष्णको अनुकरण नभई अनुशरण गर्नुपर्ने बताउनुहुन्छ । ‘अनुकरण भनेको ठ्याक्कै श्रीकृष्ण जस्तै बन्न खोज्नु हो । तर यो सम्भव हुँदैन, हामीले त्यस्तो गर्न खोज्नु हुँदैन,’ उहाँले भन्नुभयो, ‘अनुशरण भनेको राम्रा कुरालाई मनन् गरेर व्यवहारमा उतार्ने हो ।’ श्रीकृष्णले आफ्नो जीवनकालमा थुप्रै लीला गर्नुभएको प्रसंग जोड्नुहुँदै डा. उपाध्यायले भन्नुभयो, ‘श्रीकृष्णले ७ दिनमा दूधमा विष लगाएर आएकी पुतनालाई मार्नुभयो, ७ वर्षको उमेरमा गोबद्र्धन पर्वत उठाउनुभयो, हामी यसो गर्न सक्छौं त ? श्रीकृष्णले गर्नुभयो भनेर १६ हजार कन्यासँग बिहे गर्न पाए खुशी हुने, अनि विषपान गर्न र गोबद्र्धन पर्वत उठाउने नसक्ने ?’
श्रीकृष्णबाट मित्रहरूबीच हुनुपर्ने प्रेमको प्रेरणा लिनुपर्ने र गीताको शिक्षालाई जीवनमा घटित गर्नुपर्ने डा. उपाध्यायले बताउनुभयो ।