भगवान् श्रीकृष्णको जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व हिन्दू धर्मावलम्बीले आज मंगलबार भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वसुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रुपमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ ।

कंसले कारागारमा बन्दी बनाएको अवस्थामा देवकीबाट कृष्णको जन्म भएको थियो । चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि विष्णुको मोहित पार्ने शक्तिका कारण कृष्ण जन्मिएका बेलामा सबै सैनिक निद्रामा मग्न भएका थिए ।

श्रीकृष्ण जन्मिएपछि ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पुर्‍याऊ’ भन्ने आकाशवाणी वसुदेवले सुन्नुभएको थियो । वसुदेव नन्दका घरमा गई कृष्णलाई त्यहीँ छाडी त्यही दिन जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिकहरू ब्युँझिएको प्रसङ्ग महाभारतमा उल्लेख छ ।

श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवं वासुदेवलाई कारागारमुक्त गरेका शास्त्रमा उल्लेख छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप जन्माष्टमी पर्व मनाउने गरिएको छ ।

सम्बन्धित
Loading...